नेपाली कांग्रेसको वडा अधिवेशन नसर्ने, तोकिएकै मिति असोज ३ मा हुने निर्वाचन समितिको स्पष्टोक्ति

नेपाली कांग्रेसको वडा अधिवेशन नसर्ने, तोकिएकै मिति असोज ३ मा हुने निर्वाचन समितिको स्पष्टोक्ति

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी असोज ३ गतेका लागि तय भएको वडा अधिवेशन कुनै पनि हालतमा नसर्ने केन्द्रीय निर्वाचन समितिले स्पष्ट पारेको छ। सामाजिक सञ्जाल लगायतका माध्यममा अधिवेशन सर्ने भन्दै फैलाइएका हल्ला निराधार रहेको र पूर्वपारित कार्यतालिकामै निर्वाचन हुने समितिले जनाएको हो।

बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले तोकिएकै मिति (असोज ३ गते) मा वडा अधिवेशन प्रारम्भ हुने बताउनुभयो। संविधान, पार्टी विधान र सर्वोच्च अदालतको फैसलाअनुसार पनि अधिवेशन सार्ने कुनै कानुनी तथा व्यवहारिक आधार नरहेको उनको भनाइ छ।

संयोजक खड्काले आफूले अघिल्लो दिन जारी गरेको विज्ञप्तिलाई तोडमोड गरी भ्रम फैलाइएको भन्दै असन्तोष व्यक्त गर्नुभयो। "हामी संवैधानिक सर्वोच्चता र विधिको शासन मान्छौँ। संविधानले पाँच वर्षभन्दा बढी समय दिँदैन र सर्वोच्च अदालतले पनि निर्वाचन तालिका आइसकेकाले रिट जारी नहुने फैसला गरिसकेको छ," उनले भने, "त्यसैले अदालतको फैसला र विधिको विरुद्धमा गएर अधिवेशन सार्ने कुनै गुन्जायस छैन।"

अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै संयोजक खड्काले सङ्घीयताको मूल मर्मअनुसार निर्वाचन प्रक्रिया विकेन्द्रित गरिएको बताए। जसअनुसार:

  • सातै प्रदेशमा कमान्डर तोकेर ७७ वटै जिल्लामा निर्वाचन अधिकृतहरू खटाइएको र उनीहरू जिल्ला पुगिसकेका छन्।

  • जिल्ला सभापतिहरूसँग समन्वय गरी अधिकांश वडामा मतदान अधिकृतहरूसमेत खटाइसकिएको छ।

  • धादिङ, नुवाकोट तथा रसुवाका भौगोलिक रूपमा अप्ठ्यारा ठाउँहरूमा समेत स्थानीय परिस्थितिको मूल्यांकन गरी अधिवेशन सम्पन्न गर्ने तयारी मिलाइएको छ।

केन्द्रीय महाधिवेशन सम्पन्न गर्न आवश्यक मतदाता नामावली तयार भएपछि जिल्ला र प्रदेश अधिवेशनहरू क्रमशः गर्दै जाने निर्वाचन समितिको योजना छ।

छुटाउनुभयो कि ?