पूर्वकेन्द्रीय सदस्यहरूलाई पुनः समेट्ने कांग्रेसको निर्णय, १५औँ महाधिवेशन असोज १६-१९ मा हुने

पूर्वकेन्द्रीय सदस्यहरूलाई पुनः समेट्ने कांग्रेसको निर्णय, १५औँ महाधिवेशन असोज १६-१९ मा हुने

काठमाडाैं। नेपाली कांग्रेसले अघिल्लो केन्द्रीय समितिमा रहेका सबै नेताहरूलाई पुनः केन्द्रीय समितिमा फर्किने बाटो खुला गरेको छ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनपछि गठित नयाँ समितिमा पर्न नसकेका पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वका समिति सदस्यहरूलाई समेट्दै केन्द्रीय समितिमा ल्याउने निर्णय गरेको हो।

बैठकले अघिल्लो समितिमा रहेका नेताहरूलाई केन्द्रीय समितिमा आउन औपचारिक आह्वान गर्नेछ। समितिमा फर्कन चाहनेहरू आगामी १५औँ महाधिवेशनको आयोजक समितिकै रूपमा क्रियाशील रहनेछन् भने अनिच्छुक नेताहरूका लागि जबरजस्ती नगर्ने नीति पार्टीले लिएको छ।

यसैगरी बैठकले पार्टीको १५औँ महाधिवेशनको कार्यतालिकासमेत तय गरेको छ। जसअनुसार असोज ३ र ४ गते वडा तहको अधिवेशन सम्पन्न गरी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन आयोजना गरिनेछ।

साथै, संस्थापन पक्षले गत पुस मसान्तसम्म नवीकरण भइसकेका सबै क्रियाशील सदस्यहरूलाई मान्यता दिने निर्णय गरेसँगै लामो समयदेखि कायम रहेको सदस्यता विवाद पनि समाधान भएको छ।