नयाँ दिल्ली। नयाँ दिल्लीमा आयोजित ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘विस्तारित ब्रिक्स’ सहकार्यलाई सुदृढ बनाउन पाँचवटा महत्त्वाकांक्षी पहल प्रस्ताव गरेका छन्।
उनले कृत्रिम बुद्धिमत्ता (एआई), व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन र प्रतिभा विकास जस्ता प्रविधि तथा औद्योगिक क्षेत्रलाई लक्षित गरी यी प्रस्ताव अघि सारेका हुन्।
सम्बोधनका क्रममा राष्ट्रपति सीले उदीयमान बजार र ‘ग्लोबल साउथ’सँगको निकट सम्बन्धलाई उपयोग गर्दै ब्रिक्सले विश्वव्यापी रूपमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
उनले खुलापन, पारस्परिक लाभ र साझा जितका आधारमा व्यावहारिक सहकार्यको बलियो जग बसाल्न आह्वान गर्दै औद्योगिक तथा आपूर्ति शृङ्खलालाई निर्बाध र स्थिर राख्न एकीकृत बजार विकासको अवधारणा प्रस्तुत गरे।
राष्ट्रपति सीका अनुसार ब्रिक्सले नवप्रवर्तनका लागि इन्क्युबेटर स्थापना गर्ने, परम्परागत उद्योगको स्तरोन्नति गर्ने र उदीयमान तथा भावी उद्योगका लागि दूरदर्शी योजना बनाउनु आवश्यक छ।
उदीयमान प्रविधिले साझा समृद्धिको मार्ग खोल्ने स्पष्ट पार्दै उनले प्रविधि र प्रतिभा विकासमा आधारित सहकार्यलाई अझ मजबुत बनाएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।