ट्रम्प आएपछि अमेरिकाबाट ७६० नेपाली डिपोर्ट

ट्रम्प आएपछि अमेरिकाबाट ७६० नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै त्यहाँको प्रशासनले आप्रवासीहरूप्रति कडा नीति अख्तियार गरेको छ। 

त्यसपछि त्यहाँको कानुन उल्लङ्घन गर्नेहरू धमाधम डिपोर्ट भइरहेका छन् । २०२५ जनवरी भन्दा पछि अमेरिकामा बस्ने नेपालीहरू पनि ठुलो सङ्ख्यामा डिपोर्ट भइरहेका छन्।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको तथ्याङ्क अनुसार ट्रम्पको दोस्रो कार्यकाल सुरु भएसँगै अहिलेसम्म ७६० जना अमेरिकाबाट निष्कासन (डिपोर्ट) भएका छन्।

ब्यूरोका प्रवक्ता (एसपी) राजन लिम्बुका अनुसार २०२५ जनवरी २० भन्दापछि ७६० जना डिपोर्ट भएका हुन्। डिपोर्ट हुनेमा ३७ जना महिला छन् । डिपोर्ट भएर आएका मध्ये थोरै पीडितहरूले मात्र अमेरिका पठाउने गिरोहविरुद्ध प्रहरीको मानव बेचबिखन ब्यूराेमा जाहेरी दिएका छन्। अहिलेसम्म अमेरिका पठाउने गिरोह विरुद्ध ९ वटा जाहेरी दर्ता भएर अनुसन्धान अघि बढेको एसपी लिम्बुले बताए।

पछिल्लो ८ आर्थिक वर्षमा कुल ९८६ जना अमेरिकाबाट डिपोर्ट भएका थिए। त्यसमा सबैभन्दा ठुलो सङ्ख्या ट्रम्पको कार्यकालमा देखिन्छ।

२०८२ पुसमा अमेरिकामा पिआर पाएर ३० वर्षदेखि बस्दै आएका एक जना नेपालीको पिआर नवीकरण भएन । अमेरिकन सरकारले उनलाई निष्कासन गरेर नेपाल पठाएको थियो।

उनीसँगै एक लटमा ७५ जना नेपाली डिपोर्ट भएर आएको ब्यूरोको तथ्याङ्कमा देखिएको छ। अमेरिकाले नेपालीहरूलाई चार्टर्ड विमान प्रयोग गरेर फर्काउँदै आएको छ। 

डिपोर्ट हुनेमा भिजिट भिसामा गएर लुकेका र अवैध तवरले तल्लो बाटो हुँदै अमेरिका छिरेका धेरै भेटिएका छन्।  प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो स्थापना भएपछि हालसम्म ९८६ जना अमेरिकाबाट फर्काइएका छन्।

अमेरिकाको एरिजोना र हवाईबाट २०८२ असारमा एकैदिन ओम्नि एयर इन्टरनेशनलको चार्टर विमान मार्फत ३७ जना नेपाल फिर्ता भएका थिए । ट्रम्प प्रशासन सुरु भएपछि डिपोर्ट हुने क्रम रोकिएको छैन । चार्टर्ड विमान भन्दा बाहेक अमेरिकाबाट नियमित उडानमा पनि डिपोर्ट भएका नेपालीहरू आउने गरेका छन्।