काठमाडौँ । उद्धार कार्यमा खटिएका सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेले चिलिमे हाइड्रोपावरबाट आज साँझसम्म शुभ समाचार आउन सक्ने बताएका छन् ।
सुरुङ हुँदै विद्युत्गृहसम्म जारी खोजीका क्रममा उनले ८० मिटर दूरीभित्र ठूला ढुंगा र लेदोले बाटो बन्द भएकाले पावरहाउस भएको स्थान खाली भएको हुन सक्ने बताएका हुन् ।
‘करिब ८० मिटरको दूरीभित्र ठूला–ठूला ढुंगासमेत रहेको पाइएको छ । हाल ती ठूला ढुंगा र लेदो धमाधम बाहिर निकाल्ने काम भइरहेको छ,’ चिलिमे सुरुङको उद्धार अपडेटबारे उनले भनेका छन्, ‘ठूला ढुंगा र लेदोका कारण बाटो बन्द भएकाले भित्रतर्फ केही खाली स्थान हुन सक्ने अनुमान गर्न सकिन्छ ।'
'यदि उद्धार तथा सफाइको काम सहज रूपमा अघि बढ्यो भने आज साँझसम्म शुभ समाचार प्राप्त हुन सक्ने आशा गर्न सकिन्छ । सबैको सकारात्मक आशा र प्रार्थना कायम राखौँ,’ उनले भने ।
यसअघि कुलमान घिसिङले पनि चिलिमेको विद्युत्गृहमा फसेकालाई जीवितै उद्धार गर्न सकिने सम्भावना रहेको बताएका थिए ।