काठमाडौं। नेपाली कांग्रेसको इतर समूहले आगामी महाधिवेशन तथा तल्लो तहका अधिवेशनहरूलाई व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि विभिन्न जिल्लाहरूमा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ।
जसअनुसार पाँचथरमा सूर्यकुमार दाहाल, झापामा महीन्द्रा कुमारी लिम्बु, मोरङमा भीम पराजुली र काठमाडौंमा कल्याणी रिजाललगायतका नेताहरूलाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी सुम्पिएकाे छ।
सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले एक विज्ञप्ति जारी गर्दै महाधिवेशन र तल्लो तहका अधिवेशनहरूलाई भव्य रूपमा सफल बनाउन सबै पक्षसँग आग्रह गरेका छन्।
विज्ञप्तिमा सबै तहका जिम्मेवार नेता-कार्यकर्ता, क्रियाशील सदस्य तथा शुभेच्छुकहरूलाई आवश्यक सहयोग, समर्थन र सक्रिय सहभागिताका लागि अपिल गरिएको छ।
गत भदौ १७ र १८ गते बसेको महाधिवेशन तयारी समितिको बैठकले तय गरेको कार्यतालिका अनुसार आगामी असोज १५ गतेदेखि वडा अधिवेशन सुरु हुनेछ।
अधिवेशनलाई थप व्यवस्थित बनाउनका लागि जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडा तहसम्मका अधिवेशन तयारी समितिहरू असोज ३ गतेभित्र गठन गरिसक्नुपर्ने समयसीमा तोकिएको छ।