एजेन्सी। साउदी अरबले आफ्नो रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण १,२०० किलोमिटर लामो इस्ट-वेस्ट (पूर्व-पश्चिम) तेल पाइपलाइनमा बिहीबार शृङ्खलाबद्ध ड्रोन आक्रमण भएपछि सुरक्षात्मक कदम चाल्दै यसलाई बन्द गरेको छ।
इरान युद्धका कारण अन्तर्राष्ट्रिय जलक्षेत्र 'होर्मुज स्ट्रेट' पूर्ण रूपमा अवरुद्ध भएपछि साउदी अरबले यही पाइपलाइन प्रयोग गरी देशको पूर्वी भागमा उत्पादित दैनिक करिब ५० लाख ब्यारेल कच्चा तेल पश्चिमी तटस्थित यान्बु बन्दरगाह पुर्याएर निर्यात गर्दै आएको थियो।
पम्पिङ स्टेसनमा क्षति र आगलागी
साउदी ऊर्जा मन्त्रालयका अनुसार रियाद र मदिना क्षेत्र नजिक रहेका पाइपलाइनका विभिन्न पम्पिङ स्टेसनहरूलाई लक्षित गरी आक्रमण गरिएको थियो।
अमेरिकी अधिकारीहरू र प्राप्त स्याटेलाइट तस्बिरहरूले पम्पिङ स्टेसनमा ठूलो आगलागी भई कालो धुवाँ उठिरहेको र पूर्वाधारमा व्यापक क्षति पुगेको देखाएका छन्। आक्रमणमा परेर केही कर्मचारी घाइते भएका छन् भने मन्त्रालयको प्राविधिक टोलीले क्षतिको पूर्ण यकिन गर्ने र मर्मतको काम अगाडि बढाउने प्रयास गरिरहेको छ।
इराकबाट आक्रमण भएको साउदी दाबी
साउदी विदेश मन्त्रालयले प्रारम्भिक अनुसन्धानबाट यी ड्रोनहरू इराकमा सक्रिय इरान समर्थित सशस्त्र समूहहरूले आफ्नो भूमिबाट प्रहार गरेको जनाएको छ। घटनापछि बगदादले अनुसन्धान सुरु गर्दै इरानसँग सीमा जोडिएको निसान प्रान्तका एक वरिष्ठ सैन्य कमान्डरलाई पदबाट बर्खास्त गरेको छ।
इराकी प्रधानमन्त्रीको विशेष आग्रहमा साउदी अरबले हालका लागि जवाफी कारबाही रोकेको छ। इराकले आफ्नो भूभाग छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै घटनाको उच्चस्तरीय छानबिन भइरहेको बताएको छ।
बैकल्पिक मार्ग 'लाल सागर' मा पनि जोखिम
पर्सियन खाडीबाट हुने निर्यात (होर्मुजको बाटो) बन्द भएपछि इस्ट-वेस्ट पाइपलाइन साउदीको प्रमुख विकल्प बनेको थियो। तर, अहिले यो पाइपलाइन ठप्प हुनुका साथै लाल सागर (Red Sea) तर्फको बाटोमा पनि संकट थपिएको छ।
यमनका हुथी विद्रोहीहरूले लाल सागरको दक्षिणी प्रवेशद्वार मानिने रणनीतिक रूपमा निकै महत्त्वपूर्ण बाब अल-मन्डेब स्ट्रेट नजिकको पेरिम टापु र मोखा बन्दरगाह सहरमाथि आफ्नो नियन्त्रण कायम गरेको दाबी गरेका छन्।
हुथी सैन्य प्रवक्ता याह्या सारीले साउदी ध्वजावाहक जहाजहरूलाई यस जलमार्गबाट जान नदिने चेतावनी दिएपछि एसिया र युरोप जोड्ने यो महत्त्वपूर्ण समुद्री मार्गसमेत जोखिममा परेको छ।
पाइपलाइन बन्द र लाल सागरको मार्गमा बढेको तनावका कारण विश्व बजारमा कच्चा तेलको मूल्य पुनः प्रतिब्यारेल १०० डलर नाघेको छ, जसले गर्दा विश्वव्यापी ऊर्जा आपूर्ति र अर्थतन्त्रमा गम्भीर असर पर्ने विश्लेषण गरिएको छ।