काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङको गल्छी गाउँपालिकाका बाढी प्रभावित विभिन्न क्षेत्रको स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन्।
भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पछिल्लो विपत्तिलाई सामान्य बाढी नभई प्रलय नै आएको बताए।
असाधारण रूपमा आएको विपत्तिको कारण जलवायु परिवर्तनको असर भएको बताए। हिमालमा हिउँ पग्लिने, पहिरो जाने तथा हिमताल विस्फोट हुने क्रम बढिरहेको भन्दै यसले मानव जातिमाथि नै गम्भीर चुनौती थपिएको बताए।
उनले भने, ‘पछिल्लो घटनाले विश्वको ध्यान नेपालका हिमाल र जलवायु परिवर्तनका असरमा थप केन्द्रित गराएको छ। जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरे पनि विकसित राष्ट्रहरूले जलवायु न्याय र ‘लस एन्ड ड्यामेज फन्ड’ सम्बन्धी आफ्ना प्रतिबद्धता पूरा गर्न सकेका छैनन्।’
आफू प्रधानमन्त्री हुँदा जलवायु परिवर्तनका विषयमा संयुक्त राष्ट्रसंघका विभिन्न मञ्च तथा अन्तर्राष्ट्रिय प्लेटफर्ममा नेपालले भोगिरहेको जोखिमबारे आवाज उठाएको स्मरण गरे। त्यही क्रममा संयुक्त राष्ट्रसंघका महासचिवलाई नेपाल आएर हिमाल पग्लिँदै गएको अवस्थाको प्रत्यक्ष अवलोकन गर्न आग्रह गरेपछि त्यसले विश्वभर महत्त्वपूर्ण सन्देश प्रवाह गरेको बताए।
पछिल्लो विपत्तिले नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान आकर्षित गरेको भन्दै अब नेपालले कुनै पनि अन्तर्राष्ट्रिय मञ्चलाई यो विषय उठाउनबाट खाली राख्न नहुने बताए।
उनले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्र सङ्घीय महासभामा सहभागी भएर जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षति, हिमालको अवस्था तथा जलवायु न्याय र क्षतिपूर्तिका विषयलाई प्राथमिकताका साथ उठाउन आग्रह गरे।