ड्रोन आक्रमणपछि साउदीद्वारा तेल पाइपलाइन बन्द, विश्व बजारमा तेलको मूल्य बढ्ने चिन्ता

ड्रोन आक्रमणपछि साउदीद्वारा तेल पाइपलाइन बन्द, विश्व बजारमा तेलको मूल्य बढ्ने चिन्ता

काठमाडौँ । ड्रोन आक्रमणपछि साउदी अरबले आफ्नो इस्ट–वेस्ट तेल पाइपलाइन बन्द गरेको छ । बिहीबार भएको ड्रोन आक्रमणमा पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी भएको छ ।  केही व्यक्ति घाइते भएका छन् ।

इरान–अमेरिका युद्धले होर्मुज जलमार्ग बन्द भएपछि साउदी अरबले यही पाइपलाइनमार्फत दैनिक करिब ५० लाख ब्यारेल तेल पठाउँदै आएको थियो ।

साउदी ऊर्जा मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पाइपलाइनमाथि बिहीबार थुप्रै आक्रमण भएका थिए । हालसम्म यी आक्रमण कसले गराएको हो भन्ने स्पष्ट भएको छैन । कुनै पनि देश वा संगठनले अहिलेसम्म आक्रमणको जिम्मेवारी लिएका छैनन् ।

अमेरिकी अधिकारीहरूका अनुसार आक्रमणमा पाइपलाइननजिकै रहेका पम्पिङ स्टेसनहरूलाई निशाना बनाइएको थियो । 
शुक्रबार लिइएको भूउपग्रह तस्बिरमा एउटा पम्पिङ स्टेसनमा आगलागीका कारण ठूलो क्षति भएको देखिएको छ । अर्को तस्बिरमा स्टेसनबाट कालो धुवाँ निस्किरहेको देखिएको छ ।

पाइपलाइनमा प्रत्यक्ष रूपमा कति क्षति पुगेको छ भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन । यो पाइपलाइन पुनः कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने पनि निश्चित छैन ।

साउदी विदेश मन्त्रालयले रियाद र मदिना क्षेत्रमा रहेको पाइपलाइनमा थुप्रै ड्रोनबाट आक्रमण गरिएको जनाएको छ । साउदीका अनुसार ती ड्रोन इराकको भूभागबाट आएका थिए ।

इराकका प्रधानमन्त्रीको अनुरोधका कारण साउदीले तत्काल जवाफी कारबाही नगर्ने निर्णय लिएको बताइएको छ । साउदी अरबले इराकले पहिले आफ्नो भूमिबाट हुने यस्ता आक्रमण रोक्न आवश्यक कदम चाल्नुपर्ने बताएको छ ।

इराकले पनि आक्रमणको भर्त्सना गरेको छ । इराकी सरकारले घटनाको अनुसन्धान गर्ने तथा आफ्नो भूमि वा आकाशीय क्षेत्रलाई अन्य देशमाथि आक्रमण गर्न प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ ।

साउदी अरबको अधिकांश तेल देशको पूर्वी भागमा उत्पादन हुन्छ । यसलाई अन्य देशसम्म पुर्‍याउन सामान्यतया पानीजहाजको प्रयोग गरिन्छ । पर्सियन खाडीबाट बाहिर निस्कन ती पानीजहाज होर्मुज जलमार्ग हुँदै जानुपर्ने हुन्छ ।

अमेरिका–इरान युद्धपछि होर्मुजको बाटो बन्द भएपछि साउदीले इस्ट–वेस्ट पाइपलाइनको सहारा लिएको थियो ।
 
होर्मुज बन्द भएपछि साउदीले यही पाइपलाइनमार्फत दैनिक करिब ५० लाख ब्यारेल तेल यान्बु पठाउँदै आएको थियो । त्यहाँबाट तेल पानीजहाजमार्फत अन्य देशका बजारसम्म पुर्‍याउन सकिन्थ्यो ।

होर्मुजपछि अब लाल सागरको बाटो पनि बन्द हुने संघारमा पुगेको देखिन्छ । यमनका हुथी विद्रोहीहरूले बाब अल–मन्दब जलमार्ग क्षेत्रमाथि कब्जा गरेको दाबी गरेका छन् । उनीहरूले साउदी पानीजहाजलाई यस बाटो हुँदै आवतजावत गर्न अनुमति नदिने बताएका छन् ।