कांग्रेसमा महाधिवेशन जुध्न थालेपछि विवाद चुलियो: देउवा र कोइराला पक्षको समानान्तर कार्यतालिका

कांग्रेसमा महाधिवेशन जुध्न थालेपछि विवाद चुलियो: देउवा र कोइराला पक्षको समानान्तर कार्यतालिका

काठमाडौँ । नेपाली कांग्रेसमा १५औँ महाधिवेशनको मिति नजिकिँदै जाँदा पार्टीभित्रको आन्तरिक विवाद झन् पेचिलो बन्दै गएको छ। सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले असोज १५ देखि २० गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरिसकेको अवस्थामा पूर्वसभापति शेरबहादुर देउवा पक्षले पनि समानान्तर कार्यतालिका ल्याउने तयारी गरेपछि विवाद नयाँ मोडमा पुगेको हो।

महाधिवेशनका लागि संस्थापन पक्षले भौतिक तयारीसमेत अघि बढाएको छ। कांग्रेसले काठमाडौँस्थित राष्ट्रियसभा गृहको प्रदर्शनी हल, लबी, पार्किङ स्थल तथा बगैँचा असोज १५ देखि २० गतेसम्म ६ दिनका लागि बुकिङ गरेको छ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले राष्ट्रियसभा गृहका प्रमुखलाई पत्र पठाउँदै महाधिवेशन प्रयोजनका लागि आवश्यक स्थान उपलब्ध गराउन अनुरोध गरिएको बताए।

आधिकारिक संरचनाबाट तयारी भइरहेका बेला इतर पक्षहरूबाट छुट्टाछुट्टै कार्यतालिका आउन थालेपछि महाधिवेशनको वैधानिकता, प्रतिनिधि चयन र नेतृत्वको विषय थप विवादित बन्ने देखिएको छ।

सभापति थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले तय गरेको मितिअनुसार संस्थागत तयारी अघि बढेको भए पनि संस्थापनइतर पक्षले डा. शशांक कोइरालाको नेतृत्वमा यसअघि नै छुट्टै कार्यतालिका सार्वजनिक गरिसकेको छ।

अब पूर्वसभापति देउवा पक्षले पनि छुट्टै तालिका ल्याउने तयारी गरेपछि पार्टी महाधिवेशन एकताभन्दा शक्ति संघर्षको केन्द्र बन्ने जोखिम बढेको नेताहरू बताउँछन्।

तल्ला तहको अधिवेशन कार्यतालिकामा फेरबदल

नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमै सम्पन्न गर्ने गरी अधिवेशनको नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको परिमार्जित कार्यतालिकाअनुसार महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा सम्पन्न हुनेछ।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी र जनधनको क्षतिपछि प्रभावित क्षेत्रसहित विभिन्न जिल्लाको सुझावलाई ध्यानमा राख्दै तल्ला तहका अधिवेशनको मिति हेरफेर गरिएको हो।

नयाँ कार्यतालिकाअनुसार देशभरका ६ हजार ७४३ वडामा गाउँ-नगर वडा अधिवेशन असोज ३ र ४ गते हुनेछ। त्यस्तै, गाउँपालिका तथा नगरपालिका अधिवेशन असोज ७ गते र प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गतेका लागि तय गरिएको छ।

विदेशस्थित जनसम्पर्क समितिका अधिवेशन पनि असोज १० भित्रै सक्नुपर्नेछ। बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने स्थानीय समन्वयमा अधिवेशन गरिने निर्वाचन समितिले जनाएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले १६ देखि १९ असोजको केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने वैधानिक दायित्वलाई केन्द्रमा राखेर पहिलो चरणको निर्वाचन क्यालेण्डर सार्वजनिक गरिएको बताए।