जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले हिमाल पग्लिने, हिमपहिरो जाने र हिमताल फुट्ने जस्ता गम्भीर प्राकृतिक विपद् कुनै एक देश विशेषको मात्र नभई सम्पूर्ण मानव जातिकै साझा समस्या भएको बताए। शुक्रबार जनकपुरधाममा पत्रकारहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका संयोजक प्रचण्डले यस्तो धारणा राखेका हुन्।
रसुवा, भोटेकोशी र त्रिशूली करिडोरमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले भने, "भोटेकोशी र त्रिशूलीमा आएको प्रलयका कारण अकल्पनीय मानवीय तथा भौतिक क्षति भएको छ। यस दर्दनाक घटनाले सिङ्गो देशलाई स्तब्ध बनाउनुका साथै सम्पूर्ण विश्वकै ध्यान आकर्षित गरेको छ।"
उनले यो घटनालाई सामान्य वर्षा वा बाढीका रूपमा मात्र हेर्न नहुने स्पष्ट पारे। "यो त हिमाल पग्लिएर र हिमताल विष्फोट भएर आएको महाप्रलय हो । त्यसैले विश्वभरका वैज्ञानिक, वातावरणविद् र अन्तर्राष्ट्रिय समुदायले यस घटनालाई अत्यन्त गम्भीरताका साथ अध्ययन गरिरहेका छन्," प्रचण्डले भने।
यो विपद्पछि जलवायु परिवर्तनको गम्भीर असरबारे विश्व समुदायको चेत खुलेको उल्लेख गर्दै उनले यसबाट नेपालले जलवायु न्याय (क्लाइमेट जस्टिस) पाउनुपर्ने बलियो आधार खडा भएको बताए। आफू प्रधानमन्त्री रहँदा संयुक्त राष्ट्रसङ्घको महासभा र जलवायु सम्बन्धी कोप (COP) सम्मेलनहरूमा यस मुद्दालाई प्राथमिकताका साथ उठाएको उनले स्मरण गराए।
अति विकसित र औद्योगिक राष्ट्रहरूले गर्ने अत्यधिक कार्बन उत्सर्जनका कारण नेपालजस्ता निर्दोष र कम विकसित मुलुकहरूले जलवायु परिवर्तनको भारी मूल्य चुकाउनुपरिरहेको उनको तर्क थियो। "जसले कार्बन उत्सर्जन बढी गरेका छन्, आजको यो सङ्कटको मुख्य कारक तिनै राष्ट्र हुन्। त्यसैले जलवायु न्यायका रूपमा उनीहरूले नेपालजस्ता मुलुकलाई राहत, पुनरुत्थान र अनुकूलनका लागि पर्याप्त सहयोग उपलब्ध गराउनुपर्छ," प्रचण्डले भने।