विदेश भ्रमणको विवरण अब 'नागरिक एप'बाटै, अध्यागमन विभाग धाउनुपर्ने बाध्यता हट्यो

विदेश भ्रमणको विवरण अब 'नागरिक एप'बाटै, अध्यागमन विभाग धाउनुपर्ने बाध्यता हट्यो

काठमाडौं । अब नेपाली नागरिकले आफ्नो वैदेशिक यात्राको विवरण (अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान विवरण) आफ्नै मोबाइलमा रहेको 'नागरिक एप'मार्फत सजिलै प्राप्त गर्न सक्ने भएका छन्। अध्यागमन विभागले आफ्नो सेवालाई थप सुरक्षित, प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यले शुक्रबारदेखि यो नयाँ व्यवस्था सञ्चालनमा ल्याएको हो।

विभागद्वारा जारी विज्ञप्तिअनुसार नागरिक एपमार्फत भ्रमण विवरण लिन सकिने भएसँगै अब सेवाग्राहीहरू भौतिक रूपमा विभागको कार्यालय धाउनुपर्ने वा कागजी निवेदन बुझाउनुपर्ने झन्झटबाट मुक्त भएका छन्।

एपमा सम्बन्धित व्यक्तिको राहदानी (पासपोर्ट) विवरण आफैँ आवद्ध हुने भएकाले व्यक्तिगत विवरणको गोपनीयता र सुरक्षा पूर्ण रूपमा सुनिश्चित हुने विभागले जनाएको छ।

यसअघि भ्रमण विवरण (ट्राभल हिस्ट्री) लिनका लागि विभागमा स्वयं उपस्थित भएर निवेदन दिनुपर्ने बाध्यता थियो। जसका कारण प्रक्रियागत ढिलासुस्ती हुने, सेवाग्राहीको समय र पैसा खर्च हुने तथा विभागमा अनावश्यक भीड र कार्यबोझ बढ्ने समस्या थियो।

नागरिक एपबाट जारी हुने उक्त भ्रमण विवरणलाई विभिन्न व्यक्ति, निकाय तथा सङ्घसंस्थाहरूले आधिकारिक दस्तावेजका रूपमा प्रयोग गर्न सक्ने विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले जानकारी दिनुभयो। नयाँ प्रविधिले सेवाग्राहीको समय र लागत दुवैको बचत गर्ने ढकालको भनाइ छ।