काठमाडौं। नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको कार्यतालिकालाई लिएर आन्तरिक विवाद चुलिएका बेला पूर्वसभापति शेरबहादुर देउवा समूहबाट निर्वाचित २४ भन्दा बढी केन्द्रीय नेताहरूले घोषित महाधिवेशन स्थगित गरी तत्काल निर्णायक वार्ता थाल्न दुवै पक्षसँग आग्रह गरेका छन्।
पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसहितका २४ भन्दा बढी नेताहरूले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै संस्थापन र संस्थापनइतर समूहलाई आ-आफ्ना महाधिवेशनका कार्यतालिका रोकेर पार्टी एकताका लागि संवाद प्रारम्भ गर्न अपिल गरेका हुन्।
देश संवेदनशील घडीमा रहेको उल्लेख गर्दै उनीहरूले सबल र एकताबद्ध कांग्रेस निर्माणका लागि सभापति गगन थापालाई विशेष पहलकदमी लिन आग्रह गरेका छन्। वक्तव्य जारी गर्नुअघि ती नेताहरूले पूर्वसभापति देउवा, पूर्वउपसभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला र सभापति गगन थापासँग छुट्टाछुट्टै छलफल गरेका थिए।
सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले असोज ३ र ४ गतेदेखि वडा अधिवेशन प्रारम्भ गर्ने कार्यतालिका तय गरेको छ भने देउवा पक्षले असोज १५ मा वडा अधिवेशन गरी मंसिरमा महाधिवेशन गर्ने छुट्टै तालिका सार्वजनिक गरेको छ। दुवै पक्षबीच कुरा नमिले समानान्तर महाधिवेशन भई पार्टी फुटको दिशामा जान सक्ने त्रास नेताहरूमा देखिएको छ।
यसैबीच, २४ नेताको अपिल र विवादका बाबजुद शुक्रबार नै काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति गगन थापाले भने तोकिएकै समयमा १५औँ महाधिवेशन हुने स्पष्ट पार्नुभएको छ।
"संविधान, पार्टीको विधान र अदालतको फैसलाले हामी बाँधिएका छौँ, महाधिवेशन १ घण्टा पनि सर्दैन," सभापति थापाले भन्नुभयो। उहाँले पार्टी एकताका लागि आफू लचिलो हुन तयार रहे पनि महाधिवेशनको प्रक्रिया नरोकिने र कसैलाई पनि प्रतिस्पर्धाबाट वञ्चित नगरिने दाबी गर्नुभयो।