स्याङ्जा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकताबद्ध र मजबुत बनाउन आफू अझै नरम हुन तयार रहेको बताएका छन्।
कांग्रेस स्याङ्जाले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औँ पुण्यतिथिमा बिहीबार आयोजना गरेको शोकसभालाई सम्बोधन गर्दै उनले सभापतिको हैसियतले जिम्मेवार भएर अघि बढ्ने स्पष्ट पारे।
"पार्टीलाई एकताबद्ध गर्नका लागि म नरम हुन तयार छु। नरम पनि छु र पार्टीभित्रका कमी-कमजोरी हटाउन निर्मम भएर अगाडि बढ्नुपर्नेछ," सभापति थापाले भने, "त्यो सजिलो छैन, तैपनि पार्टी हितका सन्दर्भमा निर्मम भएरै लाग्नेछौँ।" उनले देशमा आइपर्ने जटिल परिस्थितिमा कांग्रेसले सधैँ जिम्मेवार भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै नागरिकमाझ पार्टीप्रतिको विश्वास पुनः जगाउने प्रतिबद्धता व्यक्त गरे।
साथै, सभापति थापाले अहिलेको विपद्को समय सरकारको आलोचना वा टिप्पणी गर्ने नभई प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सबै पक्ष जिम्मेवार भएर लाग्ने बेला भएको बताए। कार्यक्रममा उनले स्वर्गीय श्रेष्ठले पार्टी निर्माणमा पुर्याएको योगदानको स्मरणसमेत गरे।
शोकसभामा कांग्रेस महामन्त्री प्रदीप पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मालगायतका नेताहरूले स्वर्गीय श्रेष्ठले नेपाली कांग्रेस र लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको चर्चा गरेका थिए।