डुंगामा आगलागी हुँदा ५ जनाको मृत्यु ८७ जना बेपत्ता

डुंगामा आगलागी हुँदा ५ जनाको मृत्यु ८७ जना बेपत्ता

काठमाडौँ । फिलिपिन्समा एउटा डुंगामामा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने ८७ जना बेपत्ता भएका छन्।

यो दुर्घटना फिलिपिन्सको पालावान प्रान्तअन्तर्गत कोरोन क्षेत्रनजिक समुद्रमा भएको हो। आगलागी एमभी जुन एस्टर नामको डुंगामा लागेको थियो । कोस्ट गार्डका अनुसार दुर्घटनापछि ४२ जनालाई सुरक्षित उद्धार गरिएको छ।

कोस्ट गार्डकी क्याप्टेन नोएमी कायब्याबले स्थानीय रेडियो स्टेसनलाई दिएको जानकारीअनुसार ८७ जना अझै बेपत्ता छन्। कोस्ट गार्डका एक प्रवक्ताले डुंगामा कुल १३४ जना सवार रहेको बताए।
उनीहरूमध्ये ११७ जना यात्रु र १७ जना चालक दलका सदस्य थिए। उद्धार गरिएका व्यक्ति तथा मृतकसँग सम्बन्धित हालसम्मको विवरणका आधारमा ८७ जनाको खोजी अझै जारी छ।

यसैबीच, भारतको गुजरात राज्यको गान्धीनगरस्थित कुडासन क्षेत्रमा निर्माणाधीन भवनमा फलामको ठूलो स्ल्याब खस्दा धेरै मजदुर भग्नावशेषमा पुरिएका छन्। दुर्घटनापछि राहत तथा उद्धार अभियान सञ्चालन गरी हालसम्म १५ जना मजदुरलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। गुजरातका उपमुख्यमन्त्री हर्ष संघवीका अनुसार १५ जना मजदुरको उद्धार गरिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटना गएराति करिब ९ बजे भएको हो।

दुईवटा भवनबीच फलामको संरचना निर्माण गर्ने काम भइरहेको थियो। त्यही क्रममा अचानक फलामको स्ल्याब भत्किएर खस्यो र त्यसको चपेटामा त्यहाँ काम गरिरहेका मजदुर परेका थिए।