राधिका शाक्यको आत्मसंस्मरण ‘सपनाको भग्नावशेष’ सार्वजनिक: बालकोट आगजनी र त्यसपछिका पीडा समेटिए

राधिका शाक्यको आत्मसंस्मरण ‘सपनाको भग्नावशेष’ सार्वजनिक: बालकोट आगजनी र त्यसपछिका पीडा समेटिए

काठमाडौं।— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यद्वारा लिखित आत्मसंस्मरण ‘सपनाको भग्नावशेष’ सार्वजनिक गरिएको छ। बुधबार बालकोटस्थित ओली निवासमा आयोजित एक कार्यक्रमका बीच स्वयं शाक्यले उक्त पुस्तकको लोकार्पण गरेकी हुन्।

पुस्तकमा २०८२ भदौ २४ गते बालकोटस्थित निजी निवासमा भएको भयानक आगजनी, त्यसक्रममा भोगेका अकल्पनीय पीडा र आफ्ना व्यक्तिगत अनुभूतिहरूलाई जीवन्त रूपमा समेटिएको छ।

कार्यक्रममा बोल्दै शाक्यले उक्त आगजनी केवल सम्पत्ति नष्ट पार्ने नियतले मात्र नभएको दाबी गरिन्। "हाम्रो घर-सम्पत्ति मात्र जलाउने योजना खरानी ग्याङको थिएन होला," उनले भनिन्, "मूलतः केपी सरलाई नै सधैँका लागि पन्छाउने पहिलो उद्देश्य ती खरानी ग्याङको हुनुपर्छ। तर भाग्यवश हामी बच्न सफल भयौँ।" यदि त्यो घटनामा आफूहरू जोगिन नसकेको भए आज देशले कालो दिवस मनाइरहँदा आफ्नो पुण्यतिथि परिरहेको हुने तीतो यथार्थ उनले व्यक्त गरिन्।

आफूसँग रहेका दशौँ हजार महत्त्वपूर्ण पुस्तकहरूलाई व्यवस्थित गरेर नयाँ पुस्ताका लागि सार्वजनिक पुस्तकालय बनाउने सपना आगजनीसँगै खरानीमा परिणत भएकोमा उनले गहिरो दुःख व्यक्त गरिन्।

साथै, अझै पनि बिनाकसुर आफूहरूमाथि विभिन्न बहानामा मानसिक तनाव दिने र भ्रम फैलाउने काम भइरहेको भन्दै शाक्यले आपत्ति जनाइन्। एक थोपा रगत र एक मुठी सास रहेसम्म देशकै सेवामा समर्पित हुने दृढता व्यक्त गर्दै उनले आफूहरूमाथि लगाइएका आरोप र लाञ्छनाहरूको खण्डन समेत गरिन्।