काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन र त्यसबाट गगन थापालाई पार्टी सभापतिको मान्यता दिने निर्णयविरुद्ध सर्वोच्च अदालतले पुनरावलोकनको निस्सा दिएकाले आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरेका छन्।
बुधबार भक्तपुरमा आयोजित १३३औँ बीपी जयन्तीका अवसरमा बोल्दै देउवाले विशेष महाधिवेशनमा प्रतिनिधिहरूको सनाखत नै नगरिएको दाबी गरे। पूर्वसभापति सुवर्ण शमशेर र बीपी कोइरालाको पालामा बोलाइएको पहिलो विशेष महाधिवेशनमा पूर्ण सनाखत गरिएको स्मरण गराउँदै उनले पछिल्लो पटक भने बिनासनाखत खल्तीका मान्छे राखेर अधिवेशन गराइएको आरोप लगाए।
देउवाले सभापतिलाई नै थाहा नदिई विशेष महाधिवेशन बोलाइएको बताउँदै यस विषयमा निर्वाचन आयोग र सर्वोच्च अदालत पुगेको उल्लेख गरे। निर्वाचन आयोगका तत्कालीन कार्यवाहक प्रमुख आयुक्तले धम्कीका कारण निर्णय गरेको आफूले सुनेको दाबी समेत उनले गरे।
सर्वोच्च अदालतबाट पुनरावलोकनका लागि निस्सा पाउनुलाई आधाभन्दा बढी विजय मान्दै देउवाले अहिले पनि आधिकारिकता रोक्न विभिन्न खेल भइरहेको आरोप लगाए। यद्यपि, पञ्चायतकाल र राजा ज्ञानेन्द्रको शासनकालमा पनि अदालतले न्याय दिएको स्मरण गर्दै उनले अन्ततः नेपाली कांग्रेसको आधिकारिकता, रुख चिन्ह र चारतारे झण्डा आफूहरूले नै पाउने दाबी गरे।