काठमाडौँ । बुधबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १५.४३ अंकले घटेर २५४५.४० विन्दुमा अडिएको हो। यसअघि साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक १८.०७ अंकले बढेर २५६०.८४ विन्दुमा पुगेको थियो। सो दिन ३ अर्ब ८३ करोड मूल्य बराबरको कारोबार भएको थियो। मंगलबार सार्वजनिक बिदा परेकाले कारोबार भएन।
नेप्से घटेपनि कारोबार रकम भने सोमबारको तुलनामा वृद्धि भएको छ। यसदिन ३५२ वटा स्क्रिप्सको १ करोड ९ लाख ६५ हजार ५४२ कित्ता सेयर ४ अर्ब १९ करोड ८९ लाख २१ हजार ३९ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये ७४ वटा स्टक्सको मूल्य बढ्दा १९२ वटाको घट्यो। ११ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। आज अपर लोहोरे खोला जलविद्युत कम्पनीको सेयर मात्रै सकारात्मक सर्किट लेभलमा कारोबार भयो। इमर्जिङ नेपाल,सिन्धु विकास बैंक,जानकी फाइनान्स र कालिञ्चोक दर्शन लिमिटेडको सेयरमा नकारात्मक सर्किट लाग्यो।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्गस मिल्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीले ४२ करोड मूल्य बराबरको कारोबार गर्यो। सेन्ट्रल फाइनान्सले १७ करोडको कारोबार गर्दा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले १६ करोड,सोलु हाइड्रोपावरले १४ करोड र शिवम् सिमेन्टले १३ करोडको कारोबार गरे।
यसदिन १३ वटै समूहको उपसूचक नकारात्मक देखिए। डेभलपमेन्ट बैंक समूहको उपसूचक सर्वाधिक २.३७ प्रतिशतले घट्दा फाइनान्स,होटेल्स एण्ड टुरिजम,नन लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहक उपसूचक १ प्रतिशत बढिले घटे।