काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनका क्रममा भएको हिंसा, आगजनी र तोडफोडबारे निष्पक्ष तथा स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् । जेन–जी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा बुधबार वक्तव्य जारी गर्दै उनले आन्दोलनका सबै पक्षको सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग राखेका हुन् ।
जेन–जी आन्दोलन प्रारम्भमा अभिव्यक्ति स्वतन्त्रता, सुशासन, भ्रष्टाचारविरुद्धको खबरदारी र नयाँ पुस्ताको भविष्यप्रतिको चिन्ताबाट उत्पन्न भएको प्रचण्डको भनाइ छ । तर युवाको आवाजलाई संवेदनशील रूपमा सम्बोधन गर्नुको सट्टा राज्यले दमनको बाटो रोजेको र त्यसपछि आन्दोलनमा ‘सन्दिग्ध तत्व’ प्रवेश गरेको आरोप उनले लगाएका छन् ।
प्रचण्डले भदौ २४ गतेलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा ‘कालो दिन’ का रूपमा चित्रित गरेका छन् । नेपाली जनताको आत्मनिर्णयको अधिकार, राष्ट्रिय स्वाधीनता तथा ऐतिहासिक र पुरातात्विक धरोहरमाथि भएको विध्वंसका कारण पनि उक्त दिनलाई कालो दिनका रूपमा लिनुपर्ने उनको भनाइ छ ।
‘हामी न गोली चलाउने पक्षका थियौँ, न सिंहदरबार जलाउने,’ उनले भनेका छन्, ‘त्यसैले जेन–जी विद्रोहका नाममा हाम्रो पार्टी, नेतृत्व र राजनीतिक शक्तिमाथि गरिएको आक्रमणलाई सामान्य राजनीतिक घटनाका रूपमा स्वीकार गर्न सकिँदैन।’
प्रचण्डले आन्दोलनका क्रममा भएका घटनाको सत्य स्थापित गर्न स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित छानबिन आवश्यक रहेको बताएका छन् । आन्दोलनमाथि दमन किन र कसरी भयो, कसले आन्दोलन भड्कायो, हिंसा, लुटपाट र विध्वंस कसले मच्चायो तथा त्यसबाट लाभ कसले उठायो भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने उनको भनाइ छ ।