जनकपुरधाम। सर्लाहीका तत्कालीन प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई टेलिफोनमार्फत गालीगलौज तथा धम्की दिएको आरोपमा फरार रहेका नेता अशोक यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मधेश प्रदेशका डीआईजी ओम अधिकारीका अनुसार तत्कालीन एसपी खड्कालाई फोनमा अपशब्द प्रयोग गरी धम्क्याएको पुष्टि भएपछि फरार सूचीमा रहेका यादवलाई पक्राउ गरिएको हो।
घटना २०८२ असारको हो। त्यतिबेला यादव र तत्कालीन एसपी खड्काबीच भएको फोन संवादको अडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त अडिओमा यादवले प्रहरी अधिकारीलाई ‘मधेशमा लुट्न आएको’ आरोप लगाउँदै गालीगलौज र धम्की दिएका थिए।
अडिओ बाहिरिएलगत्तै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उहाँविरुद्ध आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। मुद्दा दर्ता भएदेखि नै फरार रहँदै आएका यादवलाई प्रहरीले खोजी कार्य तीव्र पारी नियन्त्रणमा लिन सफल भएको हो।