काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण पार्टी कमजोर भएको बताएका छन् । उनले पार्टी नेता कार्यकर्ता जनपरिचालन भन्दा पनि सिडिओ सरुवातिर केन्द्रित हुँदा पनि जनतासँगको सम्बन्ध टुटेको उनले बताएका छन् ।
पार्टीको मधेस प्रदेशको कमिटीले आयोजना गरेको मिसन जागरण अभियानको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपमहासचिव समेत रहेका ज्ञवालीले पार्टी नेताहरू सरकारी र राजसीपनका कारण एमाले कमजोर भएको बताए ।
‘एमाले जनपरिचालन गर्ने पार्टी हो तर हाम्रो कार्यशैली सरकारी भयो । राजसी भयो’ ज्ञवालीले भने ‘हाम्रो ध्यान सिडिओ सरुवा,प्रहरी र प्रशासकीय अधिकृतको सरुवातिर केन्द्रित भयो । यसले पार्टी नेतालाई जनतासँग टाढा पुर्यायो । यो कुरा आजैका मितिबाट सुधार हुन जरुरी छ ।’
ज्ञवालीले फागुनको निर्वाचनमा एमालेको कमजोर नतिजा आउनुमा पार्टीको आन्तरिक एकतामा भएको गडबडी पनि मुख्य कारक भएको बताए । पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विवाद, समूह, उपसमूहको निर्माण र निर्वाचनमा एकताबद्ध भएर जान नसक्दा यो अवस्था आएको बताए ।
‘गतवर्षको भदौ २३ गतेसम्म एमाले ठूलो र बलियो पार्टी थियो तर यसवर्षको भदौ २३ मा एमाले कमजोर पार्टी भएको छ’ ज्ञवालीले भने ‘यो अवस्था आउनुमा पार्टी जनताका मुद्दाबाट टाढिएको परिणाम हो । जसले गर्दा संविधान मिचिदा होस वा पार्टी नेतामाथि सरकारले ज्यादती गर्दा पनि जनता सडकमा आएनन् ।’
ज्ञवालीले २०७९ को निर्वाचनपछि एमालेलाई सत्ताभोगी पार्टीको रूपमा जनताले बुझेको बताए । २०७९ देखि २०८२ सम्म आउँदा चार पटक एमालेले सत्ता समीकरण बदलेको उनले बताए ।
‘२०७९ देखि ०८२ सम्म एमालेले चार पटक सत्ता समीकरण बदल्यो । पहिला प्रचण्डलाई प्रधानमन्त्री बनायो । केही महिनामा नै त्यो सरकार छोड्यो । फेरी प्रचण्डलाई नै प्रधानमन्त्री मानेर सरकारमा सहभागी भयो’ ज्ञवालीले भने ‘सरकारमा भित्रिने वा बाहिरिएको कारण हामीले जनतालाई भनेनौ । आखिर प्रचण्ड सुध्रिएर हामीले सत्तामा गएका थियौँ कि हामी सुध्रिएर ? यसको जवाफ अझै पनि जनताले खोजेका छन् ।’ प्रचण्ड सरकारबाट हठात् हटेर काँग्रेससँगको सहकार्यले त जनतामा ज्यादै नकारात्मक सन्देश गएको उनले बताए ।
एमालेले जनताका समस्याको पहिचान,उठान र समाधान दिनुपर्ने ज्ञवालीको भनाइ छ । पार्टीको भेला महोत्तरीको लालगढमा जारी छ ।