काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आगामी असोज ६ गते अमेरिकाको न्युयोर्क प्रस्थान गर्ने भएका छन्। महासभालाई सम्बोधन गरेपछि उनी असोज ९ गते नै स्वदेश फर्किने तालिका रहेको छ।
हालै भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्याएको ठूलो जनधनको क्षतिपछि प्रधानमन्त्री शाह आफैं महासभामा जान लागेका हुन्। महासभामा उनले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको गम्भीर असर र क्षतिको विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनेछन्।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल न्युयोर्क जाने तयारी भए पनि बाढीपछिको परिस्थितिलाई मध्यनजर गर्दै प्रधानमन्त्रीकै नेतृत्वमा टोली जाने निर्णय गरिएको हो। प्रधानमन्त्रीको यो भ्रमण टोली संक्षिप्त हुनेछ, जसमा बढीमा १० जना मात्र सहभागी रहनेछन्।