काठमाडौं नेपाली कांग्रेसका नेताहरूले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि संवादलाई तीव्रता दिएका छन्। गत पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनपछि सुरु भएको विवाद सर्वोच्च अदालत र निर्वाचन आयोगको निर्णयसँगै जटिल बने पनि पछिल्ला दिनहरूमा शीर्ष नेतृत्व एकताको पक्षमा उभिएको छ।
विवाद सुल्झाउने प्रयासस्वरूप पार्टी सभापति गगनकुमार थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग छुट्टाछुट्टै छलफल गरेका छन्।
शनिबार खड्का र आइतबार डा. कोइरालासँग भएको भेटवार्तामा पार्टीको आगामी कार्यदिशा, आन्तरिक एकता र मुलुकको वर्तमान विपत् व्यवस्थापनका विषयमा गहन कुराकानी भएको जानकारी गराइएको छ। सभापति थापा पार्टी एकताका लागि लचक देखिएका छन् भने पूर्वसभापति शेरबहादुर देउवा पक्षका केही सर्तहरू सम्बोधन गरेर अघि बढ्ने तयारी भइरहेको छ।
तीन महिनाअघि नेता डा. शेखर कोइरालाले अघि सारेको ५ बुँदे प्रस्ताव स्वीकार्न संस्थापन पक्ष सकारात्मक बनेको छ। महामन्त्री प्रदीप पौडेलले ती प्रस्तावहरूलाई स्वीकार गरेर जान सकिने स्पष्ट पारेकाछन्। विशेष महाधिवेशनपछि बनेको केन्द्रीय कार्यसमिति र पूर्वकार्यसमितिबीच समायोजन तथा महाधिवेशनका अन्य प्राविधिक विषयमा सहमति जुटाउने प्रयास भइरहेको छ।
विशालनगरस्थित आफ्नै सम्पर्क कार्यालयमा भएको छलफलमा डा. कोइरालाले पार्टी एकढिक्का हुनुको विकल्प नरहेको भन्दै आफ्नो तर्फबाट जुनसुकै त्याग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँको सचिवालयका अनुसार उहाँलाई कुनै पदको लोभ नरहेको र केवल पार्टी एकता चाहेको स्पष्ट पारिएको छ।
अर्कातर्फ, कांग्रेस नेता रमेश लेखकले भने महाधिवेशनको प्रक्रिया तत्काल नरोके पार्टी विभाजन हुनसक्ने चेतावनी दिएका छन्। कञ्चनपुरको दोधारा-चाँदनीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले दुवै पक्षले आ-आफ्नो ठाउँबाट महाधिवेशन रोकेर समझदारी कायम गर्नुपर्नेमा जोड दिएका छन्।
केन्द्रीय सदस्य सन्तोषी साउद ऐरीले आन्तरिक विवाद समाधान उन्मुख दिशामा रहेको र सम्वादमार्फत एकता कायम हुने विश्वास व्यक्त गरेका छन्। त्यसैगरी नेता नैनसिंह महरले मुलुक विपत्तिको घडीमा रहेकाले महाधिवेशनको जोड-घटाउ छाडेर उद्धार, राहत र पुनर्स्थापनामा केन्द्रित हुन आग्रह गरेका छन्।
यसैबीच, नयाँ दल गठनको चर्चा चले पनि निवर्तमान सभापति देउवा समूहका नेताहरू पूर्णबहादुर खड्का र डा. शेखर कोइराला संस्थापन पक्षसँगको वार्तामा जोडिएपछि विभाजनको जोखिम कम हुँदै गएको बताइएको छ।