काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको छ। भेटमा हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज, उद्धार, राहत तथा पुनर्निर्माण र दुई देशबीचको कूटनीतिक सम्बन्ध सुदृढ बनाउने विषयमा गहन छलफल भएको छ।
गत २६ अगस्टमा भोटेकोशीमा आएको बाढीका क्रममा बेपत्ता भएका कोरियाली नागरिकहरूको खोजी तथा उद्धारका विषयमा दुवै मन्त्रीबीच गम्भीर समीक्षा भएको थियो। सो क्रममा परराष्ट्रमन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा अन्तरनिकाय द्रुत प्रतिकार्य टोली (कोरिया डिजास्टर रिलिफ टिम) पठाएकोमा कोरिया सरकारप्रति आभार व्यक्त गरे। साथै, बाढीपीडितका लागि पठाइएको मानवीय सहायता र राहत सामग्रीका लागि समेत धन्यवाद दिँदै उनले 'बिल्ड ब्याक बेटर' अवधारणाअनुसार हुने पुनर्निर्माणमा कोरियाली सहयोगको निरन्तरताको अपेक्षा व्यक्त गरे।
कोरियाली परराष्ट्रमन्त्री छो ह्युनले विपद्पछिको पुनर्निर्माण र पुनस्थापनामा नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन कोरिया सरकार प्रतिबद्ध रहेको बताए। जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले व्यहोर्नुपरेको क्षतिको दायित्व अन्तर्राष्ट्रिय समुदायले लिनुपर्ने उल्लेख गर्दै उनले राष्ट्रसंघीय जलवायु सम्मेलन (COP) लगायतका विश्वमञ्चमा नेपालले पाउनुपर्ने क्षतिपूर्ति र वित्तीय सहयोगका लागि कोरियाले पनि संयुक्त रूपमा आवाज उठाउने प्रतिबद्धता जनाए।
भेटका क्रममा दुवै देशका परराष्ट्रमन्त्रीहरूले नेपाल र कोरियाबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ गर्दै द्विपक्षीय सहकार्यलाई नयाँ उचाइमा पुर्याउन निरन्तर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।