काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राप्रपा परित्याग गरेका छन्। आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले पार्टीसँगको सम्पूर्ण आबद्धता अन्त्य भएको जानकारी गराएका हुन्।
करिब चार वर्षअघि रवीन्द्र मिश्रसँगै राप्रपामा जोडिएका पाठकले पार्टीलाई समयानुकूल पुनर्संरचना गर्ने र सुशासनप्रति प्रतिबद्ध बनाउने सहमतिअनुसार महामन्त्रीको जिम्मेवारी सम्हालेका थिए। तर, सो अवधिमा सोचेअनुसार ठोस परिणाममुखी काम हुन नसकेको र पार्टीको विचार तथा व्यवहारबीच चरम विरोधाभास कायम रहेको भन्दै उनले असन्तुष्टि जनाएका छन्।
भ्रष्टाचारविरोधी कडा नारा लिए पनि पार्टीभित्र व्यावहारिक प्रतिबद्धता र पारदर्शिताको ठूलो अभाव देखिएको पाठकको आरोप छ। विज्ञप्तिमा उनले राप्रपाभित्र दिक्कलाग्दो आन्तरिक बेमेल र गुटगत स्वार्थको तिक्त सङ्घर्ष झन् बढेको टिप्पणी गरेका छन्।
केन्द्रमा देखिएका यस्ता समस्याका कारण इमानदार र सचेत युवाहरूलाई राप्रपाले आकर्षित गर्न नसकेको र आफूहरूले यो स्थितिमा परिवर्तन ल्याउन सक्ने सम्भावना नदेखिएकाले अलग्गिने निर्णयमा पुगेको उनले स्पष्ट पारेका छन्।