काठमाडौँ। सरकारले काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रार पदमा विराज सिंह थापालाई नियुक्त गरेको छ। विश्वविद्यालयका उपकुलपति प्राडा विवेक बरालको सिफारिसमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई रजिस्ट्रार नियुक्त गर्नुभएको हो।
नवनियुक्त रजिस्ट्रार थापाले बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित एक समारोहबिच पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। नर्वेबाट हाइड्रोपावर विषयमा विद्यावारिधि (पीएचडी) गर्नुभएका थापा विगत २२ वर्षदेखि काठमाडौँ विश्वविद्यालयमा सहप्राध्यापकका रूपमा कार्यरत हुनुहुन्छ।
शपथ ग्रहण कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सुधारका लागि टिमवर्क र सक्रियताका साथ काम गर्न निर्देशन दिनुभयो। उहाँले काठमाडौँ विश्वविद्यालयलाई विशिष्टीकृत ढङ्गको ट्रस्टी मोडलमा स्थापित गर्दै अन्य विश्वविद्यालयभन्दा फरक पहिचानसहित अघि बढाउनुपर्ने बताउनुभयो। साथै, कक्षा १२ पछि उच्च शिक्षाका लागि विदेश जान खोज्ने विद्यार्थीलाई नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन विश्वविद्यालयले अग्रणी भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले नवनियुक्त पदाधिकारीको आगमनले विश्वविद्यालयको रूपान्तरण र नतिजामुखी काममा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। समारोहमा विश्वविद्यालयका उपकुलपति प्राडा विवेक बराल लगायत मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।