नेपाली कांग्रेस: देउवा समूहद्वारा मंसिर २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गर्ने प्रस्ताव

नेपाली कांग्रेस: देउवा समूहद्वारा मंसिर २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गर्ने प्रस्ताव

काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५ औँ महाधिवेशन आगामी मंसिर २१ देखि २३ गतेसम्म गर्ने कार्यतालिका प्रस्ताव गरेको छ। चुनदेवीमा बुधबार बसेको बैठकमा नेता एनपी साउदले उक्त महाधिवेशन कार्यतालिका प्रस्तुत गरेका हुन्।

प्रस्तावित कार्यतालिका अनुसार वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २० गते, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन असोज २३ गते, जिल्ला अधिवेशन कात्तिक १५ गते र प्रदेश अधिवेशन मंसिर ४ गतेका लागि तोकिएको छ।

साउदका अनुसार केन्द्रीय समिति सदस्यहरूले धारणा राख्ने क्रम सुरु भइसकेको र आवश्यक परिमार्जनसहित कार्यतालिका पारित गरिनेछ। निरन्तर चल्ने बैठकमा सबै नेताहरूले विचार व्यक्त गरेपछि मात्र यसलाई अन्तिम रूप दिइने उनले बताए।

महाधिवेशनका लागि पुस १० गतेभित्र नवीकरण भएका क्रियाशील सदस्यतालाई मान्यता दिने प्रस्ताव छ। नयाँ सदस्यता वितरण नभएका स्थानमा वडाको सिफारिसमा क्षेत्रीय समितिमार्फत सदस्यता टुङ्गो लगाइनेछ।

पार्टीभित्रको साङ्गठनिक विभाजन स्वीकार गर्दै साउदले अपूर्ण संरचनाहरूलाई पूर्णता दिन केन्द्रीय प्रतिनिधि र संयोजक खटाइने जानकारी दिए। शेखर कोइराला पक्ष लगायत अन्य समूहसँग संवाद जारी रहेको भन्दै उनले अदालतमा विचाराधीन मुद्दासहितका विषयमा निरन्तर छलफल भइरहेको बताए।

विशेष अधिवेशनबाट घोषित महाधिवेशन कार्यतालिका रोक्न सर्वोच्च अदालतमा निवेदन दिइए पनि कुनै रोक नलगाइएकाले अर्को पक्षले आफ्नो प्रक्रिया अघि बढाएको साउदको भनाइ थियो। यस्तो अवस्थामा १४ औँ महाधिवेशनबाट निर्वाचित वास्तविक कार्यसमितिको जिम्मेवारी १५ औँ महाधिवेशन गराउनु नै रहेकोले नयाँ कार्यतालिका ल्याइएको उनले स्पष्ट पारे।