आङ्देम्बेको प्रश्न- सुरुङभित्र भएको मृत्यु, मृत्यु हो कि हत्या ?

आङ्देम्बेको प्रश्न- सुरुङभित्र भएको मृत्यु, मृत्यु हो कि हत्या ?

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले स्थानीय तह, विज्ञसँग समन्वय पनि नगरेको र आफूले काम पनि नगरेको आरोप लगाएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा उनले सुरुङमा फसेकाहरूको उद्धारमा ढिलाइ भएकोप्रति आक्रोश पोखे । “आफू एक्सन नगर्ने अरुलाई गर्न नदिने । अनि सात दिन बितिसकेपछि हात उठाएर सरकारले भन्ने- सुरुङमा आफैँ खोज,” उनले भने ।

उनले सुरुङभित्र रहेका व्यक्तिहरूको मृत्यु कि हत्या भनी प्रश्न गरे । “यो असंवेदनशीलता र ढिलाइका कारण ती सुरुङभित्र भएको मृत्यु, मृत्यु हो कि हत्या ? सभामुख महोदय,” उनले भने ।
आङ्देम्बेले सरकारले यसको जिम्मेवारी लिनुपर्छ कि पर्दैन भन्ने प्रश्न गरे । समयमा जोखिम भएको ठाउँमा पुग्न नसकेको आरोप लगाए । “संकटमा परेका नागरिकका आवाज सुन्ने कि दबाउने ?” उनले सोधे । आङ्देम्बेले सरकार सामाजिक सञ्जालमा अल्झिएको आरोप लगाए ।