काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा परिचालन गर्ने गरी राष्ट्रिय विपद् व्यवस्थापन कोषमा पठाइएको छ। मङ्गलबार बसेको कोष सञ्चालन समितिको बैठकले उक्त रकम निकासा गर्ने निर्णय गरेको हो।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवम् कोष सञ्चालन समितिका संयोजक डा. गुणकर भट्टका अनुसार मङ्गलबार बसेको बैठकले एक अर्ब रुपैयाँ गृहसचिवको नेतृत्वमार्फत परिचालन हुने गरी विपद् व्यवस्थापन कोषमा पठाएको छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २२ बमोजिम गृहसचिवले उक्त कोषको व्यवस्थापन गर्ने व्यवस्था रहेको छ। एभरेस्ट बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषको खातामा मौज्दात रकमबाट यो रकम पठाइएको हो।
निकासा गरिएको रकम बाढीग्रस्त क्षेत्रमा आवश्यकता र मागका आधारमा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत उद्धार, राहत, तत्कालीन पूर्वाधार सुधार तथा अस्थायी बासस्थान निर्माण लगायतका कार्यमा खर्च गरिनेछ। यसका लागि बाढीग्रस्त पालिका तथा जिल्ला विपद् व्यवस्थापन समितिले आफ्नो आवश्यकताअनुसार रकम माग गर्न सक्नेछन् भने सोही आधारमा गृहसचिव नेतृत्वको समितिले बजेट बाँडफाँड गर्नेछ।