काठमाडौँ: हिमाली तथा पहाडी क्षेत्रमा आएको विनाशकारी हिमबाढीपछि संकलन गरिएका शवहरूको चापका कारण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको शवगृह भरिभराउ भएको छ। रसुवा, नुवाकोट, धादिङलगायतका बाढी प्रभावित जिल्लाहरूबाट हालसम्म ८० वटा शव शिक्षण अस्पताल ल्याइएपछि सीमित क्षमताको शवगृहमा भण्डारण तथा व्यवस्थापन गर्न कठिनाइ उत्पन्न भएको छ।
अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरीका अनुसार सामान्य अवस्थामा शवगृहमा १५० वटासम्म शव राख्ने क्षमता छ।
विशेष परिस्थितिमा व्यवस्थापन मिलाएर करिब दुई सय वटासम्म शव अटाउन सकिने भए पनि लामो समयसम्म भण्डारण गर्नुपर्ने अवस्था आएमा भने गम्भीर समस्या निम्तिने डा. चौधरी बताउँछन्। एकै पटक ठूलो संख्यामा नयाँ शवहरू आउने क्रम जारी रहेकाले पुराना शव र नयाँ शवलाई एकैसाथ राख्न अस्पताललाई धौ-धौ परेको छ।
अस्पतालमा वर्षौँ पुराना शवहरू अझै यथावत् रहेकाले पनि समस्या थप जटिल बनेको छ। कानुनी प्रक्रिया पूरा नभएका, बेवारिसे तथा पहिचान हुन नसकेका कतिपय शवहरू सात-आठ वर्षदेखि शिक्षण अस्पतालमै अड्किएका छन्। गोरखाका नन्दप्रसाद अधिकारीको शव पनि लामो समयदेखि यहीँको भण्डारणकक्षमा छ।
सामान्यतया वर्षमा करिब एक सय वटा बेवारिसे शव आउने र कानुनी प्रक्रिया सकिएपछि सम्बन्धित निकायको समन्वयमा अन्त्येष्टि गरिने भए पनि अहिल्यै स्थानको चरम अभाव भइसकेको छ।
अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसायाराका अनुसार बाढी प्रभावित क्षेत्रबाट ल्याइएका शवको पहिचान, पोस्टमार्टम र अन्य कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले तुरुन्तै अन्त्येष्टि गर्न सम्भव हुँदैन।
केही बेवारिसे वा दान गरिएका शवहरू चिकित्सा शिक्षाको अध्ययनका लागि मेडिकल कलेजहरूले लैजाने गरे तापनि अहिले थपिएका शवको डीएनए परीक्षण तथा आफन्तको खोजीमा समय लाग्ने हुँदा लामो समय भण्डारण गर्नुपर्ने बाध्यता छ।
डा. चौधरीले अब अस्पतालमा थप शव राख्न असम्भवप्रायः भइसकेकाले पहिचान नभएका शवहरूलाई वैज्ञानिक ढंगबाट जमिनमुनि व्यवस्थापन (गाड्ने) गर्नुको विकल्प नरहेको औँल्याउँछन्। उता सूचना अधिकारी रोसायाराले बाढीबाट ल्याइएका शवहरूको पहिचान र कानुनी प्रक्रिया द्रुत गतिमा अघि बढाइएको जानकारी दिएका छन्।