काठमाडौं। देशका विभिन्न भागमा निरन्तर भइरहेको अविरल वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा पहिरो खस्नुकै साथै बाढीको जोखिम बढेपछि यातायात सेवा ठप्प तथा आंशिक रूपमा प्रभावित भएको हो।
कोशी प्रदेशअन्तर्गत इलामको इलाम नगरपालिका-९ राजदुवालीस्थित मेची राजमार्ग भदौ २३ गतेदेखि नै पूर्ण रूपमा अवरुद्ध रहेको छ। ताप्लेजुङ र झापा जोड्ने यो सडक बन्द भएपछि हाल वैकल्पिक मार्गमार्फत सवारी साधन सञ्चालन गराइएको छ।
यस्तै बागमती प्रदेशको पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ कृष्णभिर र गजुरी गाउँपालिका-२ परेवाभिरमा भदौ १४ गते पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द छ। अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारीमा पनि पहिरोका कारण यातायात ठप्प बनेको छ।
रसुवामा बाढीका कारण उत्तरगया गाउँपालिका-५ खाल्टेस्थित त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी सडक खण्ड र पासाङ ल्हामु राजमार्गका मुख्य सडकहरू पूर्ण रूपमा ठप्प भएका छन्। कर्णाली प्रदेशको मुगुस्थित छायाँनाथ रारा नगरपालिका-७ झ्यारीखोला र टोक्ला क्षेत्रमा पहिरो खस्दा नाग्म-मुगु गमगढी जोड्ने सडक खण्ड पनि पूर्ण रूपमा बन्द भएको छ।
अविरल वर्षा र पहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै केही राजमार्गहरूमा रातिको समयमा सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। वि.पि. राजमार्गअन्तर्गत काभ्रेको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने बिहान ४ देखि साँझ ६ बजेसम्म सडकको अवस्था हेरेर मात्र सवारी सञ्चालन गर्न दिइएको छ।
कान्ति लोकपथअन्तर्गत मकवानपुरको हेटौँडा-ठिङ्गन-बागमती-ललितपुर खण्डमा राति ७ बजेदेखि बिहान ५ बजेसम्म यात्रा गर्न रोक लगाइएको छ। त्यसैगरी टोखा-छहरे सडकअन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका-८ घट्टेखोला खण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।