सडेर दुर्गन्धित हुन थालेका २२९ शवको डीएनए संकलन गरी जमिनमुनि गाडिने

सडेर दुर्गन्धित हुन थालेका २२९ शवको डीएनए संकलन गरी जमिनमुनि गाडिने

काठमाडौँ । भीषण बाढीका कारण ज्यान गुमाएकाहरूमध्ये चितवनबाट संकलन गरिएका २३३ शवकाे पहिचान हुन सकेका छैनन्। तर ती शवहरू सडेर दुर्गन्धित हुन थालेका छन्। त्यसबाट थप महामारीकाे जाेखिम निम्तिन नदिन ती पहिचान हुन नसकेका २२९ वटा शवहरूलाई जमिनमुनि व्यवस्थापन गरिने भएकाे छ।

जिल्ला प्रशासन कार्यालय चितवनले आज (२०८३ भदौ १३ गते) एक सूचना जारी गर्दै, नदी तटीय क्षेत्र तथा होल्डिङ सेन्टरहरूमा रहेका शव तथा शवका अवशेषहरू सडेगलेका र दुर्गन्धित हुँदै जाँदा महामारी फैलिने जोखिम बढेकाले यस्तो निर्णय गरिएको जनाएको छ। स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय तथा विश्लेषणका आधारमा थप संक्रमण फैलिन नदिन बाध्यतात्मक विकल्पका रूपमा यो कदम चालिएको हो।

जिल्ला सुरक्षा समिति चितवनको २०८३/०५/१३ को निर्णयानुसार ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम सबै शवहरूको डीएनए  नमुना सङ्कलन गरी सङ्केत नम्बरका आधारमा अभिलेख राखिनेछ। त्यसपश्चात् शवहरू भरतपुर महानगरपालिका वडा नं. १ देवघाटस्थित खुला स्थानमा जमिनमुनि व्यवस्थापन गरिनेछ।

शव व्यवस्थापन गर्नुअघि सबै शवको डीएनए नमुना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रशासनले यस विषम् परिस्थितिमा निर्णयलाई सकारात्मक रूपमा लिई सहयोग र समन्वय गरिदिन आग्रह गर्दै, बाध्यतात्मक परिस्थितिले गर्दा पीडित परिवारजनमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी रहेको जनाएको छ।

छुटाउनुभयो कि ?