काठमाडौँ। इन्डोनेसियाको पूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा ४७ जनाको ज्यान गएको छ भने १०० भन्दा बढी मानिस घाइते भएका छन्।
पूर्वी नुसा तेङ्गारा प्रान्तको एन्डेबाट ६८ किलोमिटर उत्तर-उत्तरपश्चिममा १० किलोमिटर गहिराइलाई केन्द्रबिन्दु बनाएर गएको ७.७ म्याग्निच्युडको भूकम्पपछि फ्लोरेस टापु र आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको हो।
भूकम्पका कारण मङ्गराईमा २४, पूर्वी मङ्गराईमा १७ तथा सिक्का, न्गाडा र एन्डे लगायतका क्षेत्रमा अन्य मानिसहरूको मृत्यु भएको पुष्टि भएको छ। विपद्पछि गएको पहिरो र भग्नावशेषमा धेरै मानिस पुरिएको आशङ्कामा आइतबार बिहानैदेखि उद्धारकर्ताहरूले खोजी कार्यलाई तीव्रता दिएका छन्।
भूकम्प र त्यसपछिका परकम्पहरूका कारण ९०० भन्दा बढी घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन् भने ४५० भन्दा बढी घर र १६७ वटा विद्यालय, स्वास्थ्य केन्द्र तथा चर्चजस्ता सार्वजनिक संरचनामा क्षति पुगेको छ। परकम्पको निरन्तर डर र घरहरू बस्न अयोग्य भएपछि ५ हजारभन्दा बढी मानिस अस्थायी आश्रयस्थलमा सरेका छन् भने हजारौँ बासिन्दाले खुला आकाशमुनि रात बिताएका छन्।
पर्यटकीयस्थल लाबुआन बाजोका साथै ७०० किलोमिटर लामो ट्रान्स-फ्लोरेस राजमार्गका विभिन्न खण्ड पहिरोले अवरुद्ध बनाएको छ। विद्युत् र सञ्चार सेवा काटिएकाले दुर्गम बस्तीहरूसम्म राहत र उद्धार टोली पुर्याउन मुख्य चुनौती बनेको छ।
हाल राहतकर्मीहरूले प्रभावित क्षेत्रमा चामल, खानेपानी, पाल र कम्बलजस्ता आपत्कालीन सामग्री वितरण सुरु गरिसकेका छन्। प्रशान्त महासागरीय ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित भएकाले इन्डोनेसिया निरन्तर भूकम्प र ज्वालामुखीको उच्च जोखिममा रहँदै आएको छ।
यसअघि पनि सन् १९९२ मा फ्लोरेसमै आएको सुनामीमा २५०० जना र सन् २००४ को महाविनाशकारी सुनामीमा २ लाख ३० हजारभन्दा बढी मानिसको ज्यान गएको इतिहास छ।