उच्च शिक्षाको पुनःसंरचना र एसईई प्रदेशबाट गर्ने तयारीमा शिक्षा मन्त्रालय

उच्च शिक्षाको पुनःसंरचना र एसईई प्रदेशबाट गर्ने तयारीमा शिक्षा मन्त्रालय

काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न गरेको छ।

बैठकले मन्त्रालयको समग्र कार्यप्रगतिलाई सन्तोषजनक ठहर गर्दै आगामी दिनमा परिणाममुखी कार्यसम्पादन, सेवा प्रवाहमा सुधार र शिक्षाको संरचनात्मक रूपान्तरणलाई प्राथमिकता दिने निर्णय गरेको छ। समीक्षा बैठकमा बजेट खर्च, आयोजना कार्यान्वयन, सुशासन र गुनासो व्यवस्थापनका विषयमा गहन छलफल भएको थियो।

बैठकलाई सम्बोधन गर्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्षदेखि ‘सिकाइ चौतारी’ कार्यक्रमलाई उच्च प्राथमिकताका साथ लागू गर्न र नयाँ पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन गर्दै शिक्षामा गुणात्मक सुधार ल्याउन निर्देशन दिए।

राष्ट्रिय योजना आयोगकी सदस्य रेशु अर्याल ढुङ्गानाले उच्च शिक्षा पुनःसंरचनाको खाका शीघ्र कार्यान्वयन गर्न र शिक्षकका समस्या समाधानमा प्रभावकारी पहल गर्न जोड दिइन्।

त्यस्तै मन्त्रालयका सचिव चुडामणि पौडेलले चालु आवमा करिब डेढ अर्ब रुपैयाँभन्दा बढी बेरुजु फछ्र्योट गरिएको जानकारी दिँदै अब कार्यसम्पादन सूचकलाई पुनःपरिभाषित गरेर एसईई परीक्षालाई क्रमशः प्रदेशस्तरबाट सञ्चालन गर्ने तयारी गर्नुपर्ने बताए।

मन्त्रालयका अनुसार समीक्षा वर्षमा मन्त्रालय र मातहतका निकायको सांगठनिक तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न हुनुका साथै ‘हेल्लो सरकार’ मार्फत प्राप्त १,१४१ वटा उजुरी सम्बोधन गरिएको छ।

साथै, आठ विश्वविद्यालयका उपकुलपतिहरू खुला प्रतिस्पर्धा र योग्यताका आधारमा छनोट गरिएको मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र शिक्षा मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको उक्त बैठकले अनुगमन तथा मूल्याङ्कनलाई थप तथ्यपरक र जवाफदेही बनाएर नतिजामुखी काम गर्ने प्रतिबद्धता जनाएको छ।

छुटाउनुभयो कि ?