लन्डन। उच्च शिक्षा पूरा गरी राम्रो भविष्यको आशामा बेलायतको ‘स्किल्ड वर्कर भिजा’ (वर्क परमिट) मा स्विच भएका नेपाली कामदारहरू रोजगारदाताबाटै चरम आर्थिक र मानसिक शोषणको शिकार बन्न थालेका छन्।
त्यस्तै पीडितमध्येकी एक हुन्, योर्क सेन्ट जोन युनिभर्सिटीबाट एमबीए उत्तीर्ण मेलिसा थापा (नाम परिवर्तन)। पोष्ट स्टडी वर्क (पिएसडब्लु) भिजाको अवधि सकिएपछि उनले एक भारतीय रेष्टुरेन्टबाट स्पोन्सरसीप लिई स्किल्ड वर्कर भिजामा स्विच भएकी थिइन्। तर, त्यसका लागि भिजा आवेदन शुल्कबापत सोलिसिटरलाई ९ लाख रुपैयाँभन्दा बढी (४,५०० पाउन्ड) आफैँले बुझाउनुपरेको थियो।
सम्झौताअनुसार साताको ३७ घण्टा कामका लागि वार्षिक २१ हजार ५०० पाउन्ड दिने भनिए पनि उनलाई साप्ताहिक ४२ घण्टासम्म काममा लगाइन्थ्यो। काम गरेबापत उनलाई हप्ताको जम्मा ४०० पाउन्ड मात्र दिइन्थ्यो र होलिडे पे, पे-स्लिप तथा पेन्सन योगदानको सुविधाबाट समेत वञ्चित गराइयो। २६ महिनासम्म लगातार शोषणमा परेपछि उनी हाल न्यायको खोजीमा बेलायती श्रम अदालत पुगेकी छन्।
मेलिसा जस्तै अर्की पीडित हुन् इशा (नाम परिवर्तन)। लन्डनको एक रेष्टुरेन्टमा साढे तीन वर्षदेखि म्यानेजर पदमा काम गर्दै आएकी उनले भिजा थप्न झण्डै २५ लाख रुपैयाँ खर्च गरेकी थिइन्। तर, रोजगारदाता कम्पनीले सरकारी नियम पालना नगरेपछि गृह मन्त्रालयले उक्त रेष्टुरेन्टको स्पोन्सरसीप लाइसेन्स खारेज गर्ने प्रक्रिया अघि बढाएको छ। अब उनले ६० दिनभित्र अर्को स्पोन्सर खोज्नुपर्नेछ वा बेलायत छाड्नुपर्नेछ।
अध्यागमन सल्लाहकार तथा भिजा क्वेष्ट यूकेका निर्देशक विष्णु खरेलका अनुसार रोजगारदाताहरूले कम्प्लायन्स पूरा नगर्दा, न्यूनतम ज्याला नदिँदा, होलिडे पे नगर्दा र तोकिएको पोजिसन अनुसार काम नगराउँदा धेरै कम्पनीहरूले स्पोन्सरसीप लाइसेन्स गुमाइरहेका छन्।
यसैबीच बेलायत सरकारले स्किल्ड वर्कर भिजासम्बन्धी नियमहरू थप कडा बनाएको छ। सरकारले न्यूनतम तलब थ्रेसहोल्ड बढाएर वार्षिक ४१ हजार ७०० पाउन्ड पुर्याएको छ भने स्नातक तहको योग्यता अनिवार्य गरेको छ। यसका साथै सप म्यानेजर जस्ता १०० भन्दा बढी गैर-ग्रयाजुएट पेसाहरूलाई यस भिजाका लागि अयोग्य घोषणा गरिएको छ।
नियम कडा भएसँगै मार्चसम्मको १२ महिनामा जम्मा ६८ हजार ०६७ दक्ष कामदार भिजा जारी भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले कम हो। हस्पिटालिटी क्षेत्रका धेरै पेसाहरू अयोग्य ठहरिएकाले नयाँ कामदार झिकाउन र भिजा स्विच गर्न झन् जटिल बन्दै गएको छ।