काठमाडौं। नेता डा. धवलशमशेर राणाले नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गराएका छन्। शुक्रबार निर्वाचन आयोग पुगेर उनले नयाँ पार्टी दर्ता गराएका हुन्।
दल दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राणाले अभियानकर्मी दुर्गा प्रसाईंलाई पार्टीमा सहभागी हुन खुला स्वागत रहेको बताए। प्रसाईं र आफूहरूबिच आगामी दिनमा सहकार्य हुने जानकारी दिँदै उनले भने, "हामी दुर्गा प्रसाईंजीको प्रतीक्षामै छौँ। उहाँ आउनुहुन्छ भने स्वागत नै छ। अहिले 'जय नेपाल पार्टी' दर्ता हुँदा उहाँ हुनुहुन्न, तर पछि मिल्छौँ भन्नुभएको छ।"
राणाका अनुसार आयोगबाट जय नेपाल पार्टीले चुनाव चिह्नका रूपमा ‘त्रिभुज’ प्राप्त गरेको छ। उक्त त्रिभुजले हिमाल, पहाड र तराईका साथै सनातन धर्म, राजसंस्था र प्रजातन्त्रको प्रतिनिधित्व गर्ने उनले व्याख्या गरे। पार्टीको झण्डा सेतो रङको हुने र त्यसमा रातो त्रिभुज अङ्कित रहने जानकारी दिइएको छ।
आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टी दर्ता गरिएको स्पष्ट पार्दै राणाले देशभरका सम्पूर्ण स्थानीय तहमा चुनाव लड्ने तयारी भइरहेको बताए। "स्थानीय तहको निर्वाचनका लागि नै हामीले तयारीस्वरूप दल दर्ता गरेका हौँ, हामी सम्पूर्ण स्थानीय तहमा भाग लिन्छौँ," उनले भने।
यसैबिच, उनले स्थानीय तहमा रहेर निष्ठा र इमानदारीपूर्वक जनताको सेवा गर्न इच्छुक सम्पूर्ण नेपाली नागरिकलाई 'जय नेपाल पार्टी'का तर्फबाट उम्मेदवार बन्न आवेदन दिनसमेत आह्वान गरेका छन्।