निधनको २९ वर्षपछि पनि गुलशन कुमारको ब्रान्ड जीवित: 'हनुमान चालिसा'ले रच्यो डिजिटल इतिहास

निधनको २९ वर्षपछि पनि गुलशन कुमारको ब्रान्ड जीवित: 'हनुमान चालिसा'ले रच्यो डिजिटल इतिहास

मुम्बई। भारतीय सङ्गीत उद्योगका 'क्यासेट किङ' गुलशन कुमारले आफ्नो जीवनकालमा सङ्गीत क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याएका थिए। तर, उनको निधनको २९ वर्षपछि पनि उनको सबैभन्दा ठूलो आम्दानी र पहिचान कुनै क्यासेट वा चलचित्रबाट नभई डिजिटल माध्यमबाट भइरहेको छ, जसको उतिबेला कल्पनासम्म गरिएको थिएन।

सन् १९८० र १९९० को दशकमा किफायती क्यासेटमार्फत भक्ति सङ्गीतलाई घर-घरमा पुर्‍याएका उनै गुलशन कुमारका भजनहरू आज युट्युब र अन्य डिजिटल मञ्चमा अर्बौँ पटक हेरिने र सुनिने गरिएका छन्।

यसको सबैभन्दा ठूलो उदाहरण गुलशन कुमार स्वयम् अभिनयमा प्रस्तुत भएको ‘श्री हनुमान चालिसा’को भिडियो हो। १० मे २०११ मा टी-सिरिजको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको यो भिडियोले नोभेम्बर २०२५ सम्ममा ५ अर्बभन्दा बढी भ्युज (दृश्य) पाउँदै नयाँ विश्वकीर्तिमान कायम गरेको थियो।

५ अर्ब भ्युज पार गर्ने यो पहिलो भारतीय युट्युब भिडियोसमेत बनेको थियो। निधन भएको दशकौँपछि पनि उनको अनुहार विश्वभरि डिजिटल इतिहासको हिस्सा बनेको छ।

गुलशन कुमारको मुख्य व्यावसायिक सफलता भक्ति सङ्गीतको बजारलाई उतिबेलै पहिचान गर्नुमा थियो। भारतमा सिनेमाका गीत मात्र बिक्री भइरहेको समयमा उनले मन्दिर जाने, पूजाआजा गर्ने र साना शहरका मानिसहरू सङ्गीतका ठूला उपभोक्ता हुन सक्छन् भन्ने दूरदर्शी सोच राखेका थिए। यही सोचका आधारमा निर्माण गरिएको टी-सिरिजको भक्ति सङ्गीत भण्डार आज पनि कम्पनीको मुख्य आम्दानीको स्रोत बनेको छ।

सामान्यतया व्यक्तिको मृत्युपछि उसको नाम इतिहासमा मात्र सीमित हुने गर्छ, तर गुलशन कुमारको हकमा भने त्यसो भएन। उनका पुराना भजनहरूलाई परिमार्जित गर्दै नयाँ भिडियो र डिजिटल स्वरूपमा प्रस्तुत गरिएका कारण उनको विरासत निरन्तर फस्टाइरहेको छ।

यसका साथै, उनको नाममा स्थापित ‘गुलशन कुमार फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट’ तथा ‘गुलशन कुमार अवार्ड अफ एक्सिलेन्स’जस्ता पहलहरूले उनको विरासतलाई शिक्षा र सम्मानका क्षेत्रमा समेत विस्तार गरेका छन्। निधन भएको २९ वर्ष बितिसक्दा पनि भक्ति सङ्गीतकै बलमा उनी र उनको ब्रान्ड डिजिटल युगमा उत्तिकै सर्वव्यापी र लाभदायक बनिरहेको छ।

छुटाउनुभयो कि ?