पत्रकार किशोर श्रेष्ठलाई बरामद सामानसहित भदौ १ मा उपस्थित गराउन सर्वोच्चको आदेश

पत्रकार किशोर श्रेष्ठलाई बरामद सामानसहित भदौ १ मा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई बरामद गरिएका सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ।

गत बुधबार पक्राउ परेका श्रेष्ठका तर्फबाट उनकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सो आदेश जारी गरेको हो।

रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, अधिवक्ता रमेश बडाललगायतले बहस गरेका थिए। बहस सुनुवाइपछि अदालतले प्रहरीलाई श्रेष्ठसहित उनका विभिन्न स्थानबाट बरामद गरिएका सामग्री अदालतसमक्ष पेस गर्न निर्देशन दिएको छ।

प्रहरीले बुधबार राति श्रेष्ठलाई उनकै निवासबाट नियन्त्रणमा लिएको थियो। त्यसपछि बिहीबार बिहान झम्सीखेलस्थित 'जनआस्था'को कार्यालय र बिहीबार साँझ बागडोल तथा नख्खु क्षेत्रबाट विभिन्न सामानहरू बरामद गरेको थियो।

सर्वोच्चको यो आदेशसँगै अब प्रहरीले बरामद भएका ती सम्पूर्ण सामानसहित श्रेष्ठलाई तोकिएको मितिमा अदालतमा उपस्थित गराउनुपर्नेछ।

छुटाउनुभयो कि ?