न्यूरोविकास र बाल मानसिक स्वास्थ्य सेवा सुदृढ बनाउन सरकार प्रतिबद्ध: शिक्षामन्त्री पोखरेल

न्यूरोविकास र बाल मानसिक स्वास्थ्य सेवा सुदृढ बनाउन सरकार प्रतिबद्ध: शिक्षामन्त्री पोखरेल

काठमाडौं। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालमा न्यूरोविकाससम्बन्धी समस्या र बाल मानसिक स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सरोकारवालाहरूसँग बृहत् छलफल गरेका छन्।

शिक्षा मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्रालयका प्रतिनिधि, स्वास्थ्यकर्मी, विकास साझेदार, अपाङ्गता क्षेत्रका अभियन्ता, थेरापिस्ट, मनोवैज्ञानिक, विशेष शिक्षा विज्ञ तथा अभिभावक समूहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

छलफलका क्रममा बालबालिकामा देखिने न्यूरोविकाससम्बन्धी समस्याको प्रारम्भिक पहिचान, निदान, थेरापी, पुनर्स्थापना सेवा, दक्ष जनशक्ति व्यवस्थापन र देशभर यसको पहुँच विस्तारका विषयमा गहन मन्थन भएको थियो।

उक्त अवसरमा शिक्षामन्त्री पोखरेलले समावेशी तथा विशेष शिक्षालाई अघि बढाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। हाल शिक्षा ऐन निर्माण र राष्ट्रिय पाठ्यक्रम प्रारूप संशोधनको प्रक्रिया चलिरहेकाले सरोकारवालाबाट प्राप्त सुझावलाई नीतिगत तहमै सम्बोधन गरिने उनको भनाइ थियो।

यस्तै, सांसद सरिता महतोले अटिजम भएका बालबालिकाको शिक्षामा पहुँच बढाउनुका साथै उनीहरूका लागि रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिँदै प्राप्त सुझावहरूलाई स्पष्ट कार्यान्वयन रोडम्यापसहित अघि बढाउनुपर्ने बताइन्।

छलफलमा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले आगामी शिक्षा ऐन र पाठ्यक्रममा न्यूरोविकास तथा बाल मानसिक स्वास्थ्यका विषयहरू समेटिने जानकारी दिए।

त्यसैगरी, समावेशी शिक्षा शाखाका प्रमुख रामप्रसाद शर्मा र अटिजम केयर नेपाल सोसाइटीका कार्यकारी निर्देशक सुरेन्द्र बज्राचार्यले अपाङ्गता तथा अटिजम भएका बालबालिकाको शिक्षा सुनिश्चितताका लागि नीतिगत सुधारमार्फत विशेष समावेशी शिक्षाको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

छुटाउनुभयो कि ?