काठमाडौं। विदेशमा साढे पाँच महिना लामो उपचार र बसाइपछि नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज (बिहीबार) स्वदेश फर्किँदै छन्। देउवा दिउँसो थाइल्यान्डबाट थाई एयरवेजको उडानमार्फत काठमाडौँ अवतरण हुने कार्यक्रम छ।
यसअघि साउन २६ गते राति नौ बजेपछि नेपाल फर्किने तयारी रहे पनि रातिको समयमा स्वागतमा असहजता हुने भएपछि स्वदेश फर्किने तालिका दुई दिन पछाडि सारेर दिउँसोको लागि तय गरिएको थियो।
कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा दिउँसो साढे १२ बजे काठमाडौँ ओर्लनेछन्। उनको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कांग्रेसको देउवा पक्षले ठूलो संख्यामा नेता-कार्यकर्ता उतारेर शक्ति प्रदर्शनसहित भव्य स्वागत गर्ने तयारी गरेको छ।
गत भाद्र २४ गते ‘जेन-जी’ आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित देउवा निवासमा प्रदर्शनकारीले आगजनी र आक्रमण गर्दा देउवा दम्पत्तिको स्वास्थ्यमा गम्भीर असर परेको थियो। केही समय नेपालमा उपचार गराएपछि उनीहरू थप उपचारका लागि सिंगापुर गएका थिए।
त्यसपछि ‘फलोअफ’ उपचारकै क्रममा गत फागुन १३ गते देउवा पुनः सिंगापुर गएका थिए। त्यसपछि सिंगापुरबाट थप उपचारका लागि हङकङ र थाइल्यान्ड पुगेर देउवा आज स्वदेश फर्किन लागेका हुन्।
विदेशमै रहेको समयमा देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ पुर्जी जारी गरेका थिए। तर, उक्त पक्राउ पुर्जी रोक्न माग गर्दै वारेशमार्फत दायर गरिएको रिटमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नीलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो।
पार्टीभित्र आन्तरिक असन्तुष्टि चुलिइरहेका बेला देउवाको आगमनलाई विशेष चासोका साथ हेरिएको छ। देउवा फर्केलगत्तै उनको पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेलाको आयोजना गर्दै छ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित आयोजक समितिले आयोजना गर्न लागेको उक्त भेलाको उद्घाटन समारोहमा करिब साढे चार हजार प्रतिनिधि सहभागी हुने बताइएको छ।