स्ट्रेट अफ हर्मुजमा नाकाबन्दी तोड्ने प्रयास गर्ने कार्गो जहाजमा अमेरिकी आक्रमण

स्ट्रेट अफ हर्मुजमा नाकाबन्दी तोड्ने प्रयास गर्ने कार्गो जहाजमा अमेरिकी आक्रमण

एजेन्सी। रणनीतिक रूपमा महत्त्वपूर्ण जलमार्ग 'स्ट्रेट अफ हर्मुज'मा अमेरिकी नाकाबन्दी तोड्ने प्रयास गर्ने एउटा कार्गो जहाजमा अमेरिकी सेनाले मिसाइल प्रहार गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले दिएको जानकारीअनुसार अमेरिकी नौसेनाको 'एमएच–६०' हेलिकप्टरले 'एमभी वेला नोभा' नामक कार्गो जहाजमाथि आक्रमण गरी त्यसलाई अघि बढ्नबाट रोकेको हो।

सेन्टकमले सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत जानकारी दिँदै उक्त जहाजले बारम्बार दिइएको चेतावनीलाई बेवास्ता गर्दै अगाडि बढ्ने प्रयास गरेपछि कारबाही गरिएको स्पष्ट पारेको छ।

गत जुलाई १४ मा इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी पुनः लागू गरिएयता इरानविरुद्ध जारी कारबाहीका क्रममा अमेरिकाले बलपूर्वक जहाज रोकेको यो तेस्रो पटक हो। सेन्टकमका अनुसार मङ्गलबारसम्म नाकाबन्दी उल्लङ्घन गर्न खोज्ने अन्य धेरै जहाजहरूलाई पुनः निर्देशित गरी फर्काइएको छ।

यसअघि पनि अप्रिल १३ देखि जुन १८ सम्म अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा अवरोध सिर्जना गरेको थियो। सो अवधिमा नौवटा कार्गो जहाजहरूलाई निष्क्रिय पारिनुका साथै १४० भन्दा बढी जहाजहरूलाई अन्यत्रै मोडिएको सेन्टकमले जनाएको छ।

विश्वकै प्रमुख तेल तथा ग्याँस ढुवानी मार्गका रूपमा रहेको 'स्ट्रेट अफ हर्मुज' पुनः सञ्चालनमा ल्याउनका लागि अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाएको नाकाबन्दी हटाउनुपर्ने मुख्य सर्त इरानले राख्दै आएको छ।

यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उक्त रणनीतिक जलमार्गमा अमेरिकाको नियन्त्रण कायमै रहने र नाकाबन्दी जारी रहने अडान दोहोर्‍याउँदै आएका छन्।

छुटाउनुभयो कि ?