ललितपुर। नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज-कप्तानगञ्ज र सिरहामा भएका दुःखद घटनापछि सरकारले गरेका सहमतिहरू तत्काल कार्यान्वयन गर्न माग गरेको छ। साथै, ती घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्चस्तरीय सर्वस्वीकार्य न्यायिक आयोग तत्काल गठन गर्न पनि सरकारसँग जोडदार माग गरेको छ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न पुनः सरकारको ध्यानाकर्षण गराएको हो।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सुनसरीको देवानगञ्ज-कप्तानगञ्ज र सिरहालगायतका स्थानमा निर्दोष नागरिकले ज्यान गुमाउनुका साथै निजी सम्पत्तिमा आगजनी र तोडफोड हुँदा ठूलो क्षति पुगेको उल्लेख छ।
पीडित पक्षलाई न्याय दिने प्रतिबद्धतासहित सरकारले सहमति गरे पनि हालसम्म चार जनालाई सहिद घोषणा गर्नेबाहेक अन्य सहमति कार्यान्वयन हुन नसकेको कांग्रेसको आरोप छ।
यसैगरी, कांग्रेसले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी, निजामती कर्मचारी, राहत शिक्षक, यातायात व्यवसायी, दुग्ध तथा उखु किसान एवं मिटरब्याज पीडित सङ्घर्ष समितिलगायत विभिन्न पेसा र व्यवसायका सङ्घसंस्थासँग सरकारले गरेका पुराना सहमतिहरू पनि अविलम्ब पालना गर्न माग गरेको छ।
यसैबीच, सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सदस्यहरूले समसामयिक राजनीतिक तथा अन्य विषयमा धारणा राख्ने क्रम जारी छ। बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्नेक्रम बाँकी रहेकाले बैठक आज बिहान ११:३० बजे पुनः बस्ने कार्यतालिका रहेको कार्यवाहक मुख्यसचिव दुलालले जानकारी दिएका छन्।