सरकार नागरिकलाई सुरक्षा, न्याय र सेवा दिन पूर्ण असफल: हर्क साम्पाङ

सरकार नागरिकलाई सुरक्षा, न्याय र सेवा दिन पूर्ण असफल:  हर्क साम्पाङ

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सरकार नागरिकलाई सुरक्षा, न्याय, सेवा सुविधा र अवसर प्रदान गर्न पूर्ण रूपमा असफल भएको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष साम्पाङले मुलुकमा सर्वसाधारण नागरिक मात्र नभई जनप्रतिनिधि (सांसद) समेत सुरक्षित नरहेको बताए। विगत साढे दुई महिनादेखि संसद्मा उपस्थित हुन माग गर्दासमेत प्रधानमन्त्री नआएको भन्दै उनी बालहठ नदेखाउन र पदीय तथा नैतिक जिम्मेवारी बहन गर्दै संसद्मा उपस्थित हुन प्रधानमन्त्रीसँग आग्रह गर्छन्।

देशमा आगजनी, तोडफोड, धम्की र धार्मिक विवादका घटनाहरू बढ्दै जाँदा पनि सरकारले प्रभावकारी कारबाही गर्न नसकेको आरोप उनी लगाउँछन्। नागरिकले निर्वाध र सुरक्षित रूपमा यात्रा गर्न पाउने वातावरण बनाउन उनले सरकारको ध्यानाकर्षण गराए।

मुलुकमा न्यायको अवस्था अत्यन्त कमजोर बनेको उल्लेख गर्दै उनी आन्दोलनरत नागरिकका समस्या समाधान गर्न मन्त्री तथा सम्बन्धित अधिकारीहरू स्वयं सडकमै पुग्नुपर्नेमा जोड दिन्छन्।

सम्बोधनका क्रममा साम्पाङले भने, “मन्त्रालयमा एसीको हावा खाएर मात्र देश भेटिँदैन। देश भेट्नका लागि खोलाखोल्सी, खेत र कारखानामा जानुपर्छ। आन्दोलन गरिरहेका नागरिकहरूको समस्या बुझ्न सडकमै पुग्नुपर्छ।”

ग्यासको लाइनमा घण्टौँ उभिन बाध्य सर्वसाधारणको पीडाप्रति सरकार संवेदनशील नभएको टिप्पणी गर्दै उनी ठूलो आशाका साथ जनताले दिएको मतको अवमूल्यन भएको बताउँछन्।

मुलुकको वर्तमान अस्तव्यस्त अवस्थाको मुख्य कारण प्रधानमन्त्रीको लापरवाही, गैरजिम्मेवारीपन र मन्त्रीहरूबिच प्रभावकारी समन्वयको अभाव रहेको उनको भनाइ छ। सरकारभित्रै गम्भीर असमझदारी देखिएको दाबी गर्दै उनले केटाकेटीपन र अपरिपक्वताका भरमा देश सञ्चालन हुन नसक्ने बताए।

छुटाउनुभयो कि ?