रवीन्द्रकुमार मेहतालाई शहीद घोषणा गर्नेसहित सरकार र पीडित पक्षबीच सातबुँदे सहमति

रवीन्द्रकुमार मेहतालाई शहीद घोषणा गर्नेसहित सरकार र पीडित पक्षबीच सातबुँदे सहमति

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा यही साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र नेपाल सरकारबीच सातबुँदे सहमति भएको छ।

गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङ र मृतक मेहताका अभिभावकबीच भएको सहमतिअनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने निर्णय भएको छ।

सहमतिपत्रमा साउन १० गते राति देवानगञ्ज–३, कप्तानगञ्जमा घटेको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम तत्काल कडा कारबाही अघि बढाउने उल्लेख छ। यसका साथै देवानगञ्ज–३ मा रहेको मदरसाको कानुनी हैसियत तथा त्यससँग सम्बन्धित अन्य विषयमा समेत तत्काल आवश्यक छानबिन सुरु गरिने भएको छ।

सहमतिअनुसार सरकारले मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउन आवश्यक पहल गर्नेछ। साथै घटनाको सत्यतथ्य अध्ययनका लागि गठित छानबिन समितिले बुझाउने प्रतिवेदनका सुझाव तथा सिफारिसहरूलाई कानुनबमोजिम कार्यान्वयनको प्रक्रियामा लगिनेछ।

यस्तै, मृतकको पार्थिव शरीरलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुनसरीको देवानगञ्ज गाउँपालिका–३ पुर्‍याएर दाहसंस्कार गर्ने व्यवस्था सरकारले मिलाउने भएको छ।

उक्त घटनामा ज्यान गुमाएका तीन जनाको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँगको समन्वयमा यसै चालू आर्थिक वर्षभित्र बजेट विनियोजन गरी स्मृति पार्क निर्माण गर्ने सहमतिसमेत भएको छ।

छुटाउनुभयो कि ?