सरकारी सूचना प्रवाह पारदर्शी र सहज बनाउने शिक्षामन्त्री पोखरेलको प्रतिबद्धता

सरकारी सूचना प्रवाह पारदर्शी र सहज बनाउने शिक्षामन्त्री पोखरेलको प्रतिबद्धता

काठमाडौं। सरकारी सूचना प्रवाहलाई पारदर्शी, सहज र प्रभावकारी बनाउने विषयमा सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेल र मिडिया हाउसका सम्पादकहरूबिच छलफल भएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा सहभागी सम्पादकहरूले प्रधानमन्त्री तथा अन्तरमन्त्रालयका गतिविधि र सरकारी निर्णयहरूमा मिडियाको सहज पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन्। मन्त्रालयले रणनीतिक महत्त्वका नीतिगत निर्णय गर्दा सरोकारवालासँग पर्याप्त छलफल र राय-सुझाव लिनुपर्ने उनीहरूको भनाइ थियो।

छलफलका क्रममा देश सञ्चार डटकमका सम्पादक युवराज घिमिरेले सरकारी सूचना समयमै, सहज र पारदर्शी ढङ्गले सञ्चारमाध्यमलाई उपलब्ध गराउनुपर्ने बताए। कान्तिपुर दैनिकका प्रधानसम्पादक गोकर्ण अवस्थीले सूचना सहज रूपमा प्रवाह हुन नसके ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ को जोखिम बढ्ने औँल्याए।

त्यस्तै, हिमालय टेलिभिजन तथा अनलाइनखबरका समूह सम्पादक उमेश चौहानले जनमत प्राप्त सरकारले जनआकाङ्क्षा पूरा गर्दै शिक्षा क्षेत्रका बेथितिलाई नीतिगत रूपमा सुधार गर्नुपर्नेमा जोड दिए। अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेतले सरकार र सञ्चारमाध्यमबिचको निरन्तर संवादले सूचना प्रवाह सहज बनाउनुका साथै दुवैपक्षबिचको दूरी कम गर्न मद्दत पुग्ने धारणा राखे।

सेतोपाटी डटकमका सम्पादक सुदीप श्रेष्ठले सरकारको कामकारबाही र सुधारका प्रयासबारे आम नागरिकले सहज रूपमा जानकारी पाउनुपर्ने बताए। शिलापत्र डटकमका सम्पादक योगेश ढकालले विश्वविद्यालयप्रतिको जनविश्वास बलियो बनाउन आवश्यक नीतिगत परिवर्तन गर्नुपर्ने उल्लेख गरे।

द काठमाडौँ पोस्टका समाचार सम्पादक विनोद घिमिरेले सरकारी सूचना प्रणालीलाई सरल बनाउनुपर्ने बताए भने पत्रकार बिनु सुवेदीले सरकार र सञ्चारमाध्यमबिचको सम्बन्धलाई सौहार्दपूर्ण बनाउँदै सूचना प्रवाहलाई जनस्तरसम्म पुर्‍याउनुपर्ने धारणा राखिन्। सम्पादकहरूले विद्यालय तथा उच्च शिक्षालाई व्यावहारिक, वैज्ञानिक र जनमुखी बनाउन दीर्घकालीन सुधार आवश्यक रहेकोमा समेत जोड दिए।

छलफलमा शिक्षामन्त्री पोखरेलले सूचना प्रवाहलाई थप व्यवस्थित, सरल र प्रभावकारी बनाउन मन्त्रालय लागिपरेको बताए। वर्तमान सरकार प्रजातान्त्रिक प्रक्रिया र जनमतबाट आएकाले लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन र पारदर्शिताप्रति पूर्ण प्रतिबद्ध रहेको उनको भनाइ थियो। विश्वविद्यालयका पदाधिकारी नियुक्ति पारदर्शी र निष्पक्ष रूपमा गरिएको दाबी गर्दै मन्त्री पोखरेलले शैक्षिक गुणस्तर अभिवृद्धि र समयसापेक्ष नीतिगत सुधारमा मन्त्रालय केन्द्रित रहेको जानकारी दिए।

कार्यक्रममा मन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले मिडिया र मन्त्रालयबिच बलियो समन्वय कायम गर्दै सूचना प्रवाह सहज बनाइने उल्लेख गरे। छलफलको सहजीकरण शिक्षामन्त्रीका सल्लाहकार सरोज गौतमले गरेका थिए।

छुटाउनुभयो कि ?