काठमाडौं। धर्मवीर भारतीको चर्चित नाटक ‘अन्धा युग’को नेपाली रूपान्तरण ‘द एज अफ डार्कनेस’ काठमाडौँको थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ। राजेन्द्र सलभले नेपालीमा रूपान्तरण गरेको यस नाटकको निर्देशन सुदीप खतिवडाले गरेका हुन्।
महाभारतको युद्धपछिको सामाजिक, राजनीतिक तथा मानवीय सङ्कट र शून्यतामा आधारित रहेको यस नाटकले महाभारतको पौराणिक कथामार्फत आधुनिक समाजमा देखिने हिंसा, सत्ता सङ्घर्ष, प्रतिशोध र नैतिक सङ्कटलाई प्रस्तुत गरेको निर्देशक खतिवडाले बताए।
करिब ११ वर्षअघि यही नाटकमार्फत अभिनय क्षेत्रमा प्रवेश गरेका निर्देशक खतिवडाले उतिबेला कलाकारका रूपमा मञ्चमा उत्रिएको नाटकलाई यसपटक निर्देशकका रूपमा नयाँ ढङ्गले दर्शकमाझ ल्याएका हुन्। उनले पुरानो नाटकलाई वर्तमान समय र दर्शकसँग जोड्ने प्रयास गरिएको जानकारी दिए।
मण्डला थिएटरको प्रस्तुतिमा रहेको यस नाटकले युद्धपछि बाँकी रहने हिंसा, प्रतिशोध, सत्ता, नैतिक द्वन्द्व र मानवीय जिम्मेवारीका विषयलाई गम्भीरताका साथ उठाएको छ। साथै, युद्धले विजेता र पराजित दुवै पक्षमा पारेको दीर्घकालीन प्रभावलाई नाटकमा सशक्त रूपमा दर्शाइएको छ।
नाटकमा सबिना चौधरी, कमल रेग्मी, राजाराम गौतम, जिन्लभ दोर्जे बोम्जन, आभूषण घिमिरे, मिलन पन्त, इन्द्रकुमार लिम्बू, जोहेब शाह, सुजित मल्ल ठकुरी, सामना राई, विजय दोङ, सौगन श्रेष्ठ, राजु श्रेष्ठ, नित्य पौडेल, विश्वजित ढकाल, मनुमित लेप्चा, घगन शाही, आरती बरुवाल, सुनिता राई, कुमार लामा, सुरेन्द्र विश्वकर्मा, सुजाता राई, अविषेक खतिवडा, सम्पदा लुकािन्द्रे र सुजल कोइरालाको अभिनय रहेको छ।
सौरभ चालिसे, सलिना बिक, जीवन राई र कुमार लामाको सङ्गीत रहेको यो नाटक आगामी भदौ १४ गतेसम्म मञ्चन हुनेछ।