ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टीले सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको बताएका छन्।
पार्टीको केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले प्रमुख प्रतिपक्षी दल हुनुको नाताले सरकारमाथि निरन्तर प्रश्न उठाउनु र खबरदारी गर्नु कांग्रेसको प्राथमिक जिम्मेवारी भएको स्पष्ट पारेका हुन्।
सम्बोधनका क्रममा सभापति थापाले राष्ट्रिय मुद्दाहरूमा सरकारसँग सहकार्य गर्नुपर्ने अवस्थामा प्रमुख प्रतिपक्षी दल सधैँ अगाडि सर्ने भए पनि प्रतिपक्षीविहीन शासन व्यवस्थाको भने आफूहरूले कहिल्यै समर्थन नगर्ने बताए।
तीन दल मिलेर सरकार बनाउने प्रस्ताव आउँदासमेत लोकतान्त्रिक मूल्यमान्यता जोगाउनका लागि नै कांग्रेसले प्रतिपक्षीविहीन प्रदेश सरकारको अवधारणालाई अस्वीकार गरेको उनको भनाइ थियो।
यसैगरी, पार्टीको आन्तरिक विषयमा बोल्दै सभापति थापाले हालै सम्पन्न विशेष महाधिवेशन पूर्ण रूपमा विधानसम्मत, आवश्यक र औचित्यपूर्ण रहेको दाबी गरे। महाधिवेशनको स्पष्ट निष्कर्ष र परिणामलाई निर्वाचन आयोगले प्रचलित कानुन, नियम र प्रशासनिक व्यवस्थाअनुसार अध्ययन गरेर आधिकारिक रूपमा स्वीकार गर्दै पार्टीको विवरण अद्यावधिक गरिसकेको उनले जानकारी गराए।
महाधिवेशनको प्रक्रिया र परिणामलाई लिएर पार्टीभित्रका केही साथीहरूले असहमति जनाउँदै मुद्दा अदालतसम्म पुर्याएको प्रसङ्गमा बोल्दै उनले यसले विषयलाई थप स्पष्ट पार्न मद्दत पुग्ने बताए।
निर्वाचन आयोगको निर्णयमाथि उठेका प्रश्नहरूमाथि पुनः छलफल होस् भन्ने मनसायले यो विषय अदालतको प्रक्रियामा पुगेको उनको भनाइ थियो। आगामी १५औँ महाधिवेशनलाई पूर्ण रूपमा निष्पक्ष बनाउने प्रतिबद्धता जनाउँदै सभापति थापाले अग्रजहरूको सम्मान र सबै साथीहरूलाई समान अधिकार दिइने आश्वासन दिए।
उनले कुनै पनि दबाबमा नपरी, पुराना र नयाँ पुस्ताका साथै सबै समावेशी समुदायलाई समेटेर रुख चिन्हप्रति प्रतिबद्ध रहँदै पार्टीलाई एकजुट बनाएर लैजानुपर्नेमा जोड दिए।