काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यका साथ आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
आइतबार रास्वपाका सहमहामन्त्री असिम शाहद्वारा जारी विज्ञप्तिअनुसार, यो कार्यक्रममार्फत सरकार, व्यवस्थापिका, पार्टी संगठन र आमनागरिकबीचको समन्वयलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
यस कार्यक्रमअन्तर्गत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई आम नागरिक तथा पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा जोडिनेछन्। यस अभ्यासले भुइँमान्छेका आवाजलाई सीधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्ने विश्वास लिइएको छ।
पार्टीका अनुसार हरेक महिना सञ्चालन हुने यो कार्यक्रम दुई चरणमा विभाजन गरिएको छ:
-
पहिलो चरण (नागरिक संवाद): साँझ ५ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने यो चरणमा मन्त्रीहरूले आम नागरिकका गुनासा, समस्या, अपेक्षा तथा सुझावहरू प्रत्यक्ष रूपमा सुन्नेछन्।
-
दोस्रो चरण (नेतृत्व संवाद): साँझ ६ बजेदेखि सुरु हुने दोस्रो चरणमा मन्त्रीहरू, पार्टीका केन्द्रीय समिति सदस्यहरू र प्रतिनिधि सभा सदस्यहरूबीच संयुक्त बैठक बस्नेछ। यस बैठकमा नागरिक स्तरबाट प्राप्त सुझावका साथै समसामयिक राजनीतिक, सामाजिक तथा नीतिगत विषयहरूमा गहन छलफल गरिनेछ।
मन्त्रीहरूलाई आम नागरिकप्रति प्रत्यक्ष रूपमा जवाफदेही बनाउनु, जनताका वास्तविक समस्या बुझेर राष्ट्रिय नीति तथा कानुन निर्माणमा पार्टीको स्पष्ट धारणा तय गर्नु, र पार्टीको साङ्गठनिक तह, संसदीय दल तथा सरकारमा रहेका प्रतिनिधिहरूबीच सूचना र कार्ययोजनाको प्रभावकारी आदानप्रदान गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको विज्ञप्तिमा जनाइएको छ।