काठमाडौँ। इरानी राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिका र इरानसँगको जारी तनावबीच आफ्नो देशलाई ‘न युद्ध, न शान्ति’को अनिश्चित अवस्थाबाट बाहिर निकाल्नुपर्ने बताएका छन्।
ओमानको मध्यस्थतामा भइरहेको कूटनीतिक वार्ताप्रति आशावादी देखिँदै उनले होर्मुज स्ट्रेटको विवाद सुल्झाउन र युद्धविराम उल्लङ्घनका घटना रोक्न कूटनीति नै उत्तम विकल्प भएको स्पष्ट पारेका छन्। इरानी सञ्चारमाध्यमसँग कुरा गर्दै पेजेस्कियानले जारी युद्धमा इरान शक्तिशाली रूपमा उभिएको र ओमान वार्ताबाट चाँडै सकारात्मक निष्कर्षमा पुगिने विश्वास व्यक्त गरेका छन्।
इरान र पश्चिमा राष्ट्रहरूबीच होर्मुज स्ट्रेटमा व्यापारिक जहाजहरूको सुरक्षित आवतजावतका लागि ‘मध्यम कोरिडोर’ बनाउने विषयमा सहमति नजिक पुगेको इरानी विदेशमन्त्री अब्बास अराघचीले पुष्टि गरेका छन्।
यद्यपि, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् र इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले स्ट्रेट पूर्ण रूपमा खोल्न अमेरिकाअगाडि छ वटा कडा पूर्वसर्त राखेका छन्।
जसमा इरानविरुद्धका धम्की अन्त्य हुनुपर्ने, सैन्य कारबाही र समुद्री नाकाबन्दी स्थायी रूपमा रोकिनुपर्ने, अमेरिकी सेना फिर्ता हुनुपर्ने, द्वन्द्वको क्षतिपूर्ति दिनुपर्ने, आर्थिक प्रतिबन्ध फुकुवा गर्नुपर्ने र रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने माग रहेका छन्।
यता अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भने सैन्य कारबाहीका कारण इरानको आणविक र परम्परागत सैन्य क्षमता ध्वस्त भइसकेको दाबी गरेका छन्। इरानले सम्बन्ध सुधार्न दीर्घकालीन कदम नचाले अमेरिकाले दबाब कायम राख्दै मध्यपूर्वबाट इन्धन आपूर्ति सहज बनाउने उनको भनाइ छ। यसैबीच पेन्टागनले युद्धको लागत र हतियार भण्डारलाई ध्यानमा राख्दै कम लागतका स्वचालित हतियार निर्माणमा जोड दिने गरी आफ्नो रक्षा रणनीतिमा फेरबदल गर्न थालेको छ।
क्षेत्रीय तनावका बीच होर्मुज स्ट्रेटमा संयुक्त अरब इमिरेट्सको आयल ट्याङ्करमाथि आक्रमण भएको छ, जसको दोष युएईसहित साउदी अरब र अन्य खाडी मुलुकहरूले इरानमाथि लगाएका छन्।
उता साउदीको जिजानस्थित ‘साउदी अरामको’ रिफाइनरीमा भीषण आगलागी भएको छ भने इराकको इरान समर्थित मिलिसियाले आफ्ना लडाकु मारिएको बदला साउदी र अमेरिकासँग लिने चेतावनी दिएको छ। यस्तै, साउदी, टर्की र पाकिस्तानबीच भएको त्रिपक्षीय रक्षा सम्झौतामा इजिप्ट पनि सामेल हुन सक्ने बताइएको छ, जसलाई टर्कीले पूर्णतः रक्षात्मक कदम भनेको छ।