बुटवल। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले देशको समग्र विकास र समृद्धिका लागि सबै नागरिक तथा राजनीतिक दलहरूको सहकार्य अनिवार्य रहेको बताएका छन्।
शनिबार रुपन्देहीको भैरहवामा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री आचार्यले कुनै एक व्यक्ति वा सीमित प्रतिनिधिले मात्रै देश परिवर्तन गर्न नसक्ने स्पष्ट पारे।
"देश कुनै एक जना वा प्रतिनिधि सभाका २७५ जना सांसदले मात्रै बनाउन सक्दैनन्," कार्यक्रममा बोल्दै उनले भने, "देश निर्माणका लागि समाजका हरेक वर्ग, नागरिक र राजनीतिक शक्तिहरूको सामूहिक प्रयास र समन्वय चाहिन्छ।"
आगामी स्थानीय तह तथा प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै महामन्त्री आचार्यले पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई जगैदेखि संगठन निर्माणमा जुट्न आग्रह गरे। वर्तमान संसदीय कार्यकालको आधा वर्ष मात्रै व्यतीत भएको उल्लेख गर्दै उनले बाँकी साढे चार वर्षको अवधिमा जनताको निरन्तर साथ र समर्थनको अपेक्षा रास्वपाले गरेको बताए।
स्थानीय र जिल्ला तहबाटै पार्टीका गतिविधि प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले भने, "आगामी निर्वाचनहरूमा सफलता हासिल गर्न र जनताको विश्वास जित्न स्थानीय तहका नेता-कार्यकर्ताहरूले नै समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ।"